Tourism

नयाँ वर्षको दिन मात्रै फुल्ने फूलको रहस्यमय कथा

Pinterest LinkedIn Tumblr

काठमाडौं । हरेक वर्ष सिराहाको सलहेश फूलबारीमा एउटा अनौठो फूल देख्न पाइन्छ । वर्षको पहिलो दिन अर्थात् बैशाख एक गते एकाबिहानै फुल्ने उक्त फूल साँझपख ओइलाएर जान्छ । वर्षौँदेखि अनवरत देखिएको यो फूल अनुसन्धानकर्ताका लागि समेत रहस्यको विषय बनेको छ । 

१० बिगाहा क्षेत्रफलमा फैलिएको सलहेस फूलबारीमा सयौँ वर्ष पुराना रूखहरू छन् । तिनै रूखहरू मध्ये दुईओटा मात्रै रूखमा माला आकारको सेतो फूल फुल्छ । 

हेर्दा सुनाखरी आकारको देखिने यस फूललाई स्थानीयले ‘हारमको फूल’ भन्छन् । हारमको फूलको रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) सँगै टाँसिएको छ । 

वनस्पतिविद्का अनुसार छैटौँ र सातौँ शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । 

एक किम्वदन्ती अनुसार सिराहा जिल्लाको महिसोथा राज्यका राजा सलहेश र कुशमा अर्थात् फूलबारीकी मालिनीबीच प्रगाढ प्रेम थियो । तर राजा सलहेशको पारिवारिक कारणले प्रेम सम्बन्ध भएपनि सलहेश र कुशमाबीच बिवाह हुन सकेन । विवाह नभएपछि मालिनी सलहेशको प्रतिक्षामा हरेक वर्ष बैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेकी थिइन् । सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको जनविश्वास छ । 

फूलबारीमा अनेकौँ रूख भए पनि माला आकारको फूल मालिनीको गहबरछेउमा एउटै जराबाट निस्केका दुईवटा रूखमा मात्र फुल्ने गरेको छ । 

माला आकारको फूल फुल्ने रूखमुनि रहेको मन्दिर (गहबर) भित्र हात्तीमा चढेका सलहेस र उनकी प्रेमिका दीना मालिनीको मूर्ति छ । 

राजा सलहेशको गाथासँग जोडिएको फूलबारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्ने गर्छ । राजा सलहेश र मालिनीबीचको प्रेमगाथाको रूपमा फुल्ने फूल र मेला हेर्न देशका विभिन्न स्थानका साथै भारतबाट हजारौंको सङ्ख्यामा सर्वसाधारण आउने गर्छन् । 

आजपनि साँचो भावले प्रेम गर्नेहरूको मनोकाङ्क्षा पुरा हुने विश्वासमा कैयौँ युवायुवतीहरू उक्त फूललाई साक्षी राखी विवाह गर्ने गर्छन् । सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने मान्यता रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It