News

दुर्घटनाको डिलमा पुगेको घरजग्गा कारोबारलाई मौद्रिक नीतिको समिक्षाले झनै धकेल्यो

By BN EditorialFebruary 19, 20222 min read
दुर्घटनाको डिलमा पुगेको घरजग्गा कारोबारलाई मौद्रिक नीतिको समिक्षाले झनै धकेल्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको समीक्षाले घरजग्गा कारोबारमा झनै संकट थपेको छ । अचाक्ली भाउ बढेर किनबेच नै घटिरहेको अवस्थामा मौद्रिक नीतिको व्यवस्थाले कारोबार झन संकटमा पुगेको हो।

अर्थतन्त्रमा हाल देखिएका समस्या समाधान गर्न भन्दै मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कर्जामा कडाई गर्ने नीति राष्ट्र बैंकले अघि सारेका कारण जोखिम बढेको व्यवसायीहरु बताउँछन् । राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जालाई जहिल्यै अनुत्पादक क्षेत्रको लगानी भन्ने गरेकामा व्यवसायीहरु सन्तुष्ट छैनन्।

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने भनेको छ । राष्ट्र बैंकले घरजग्गामा लगानी हुने बैंकको कर्जामा पुनरावलोकन गर्ने भनेपनि कसरी हुने र कति हुने भन्ने उल्लेख गरिएको छैन।

कारोबार सुस्ताउने पक्का

कोरोना महामारीपछि हरेक महिना कारोबार संख्या र राजस्व संकलनमा रेकर्ड गर्दै आएको घरजग्गा कारोबार अहिले विस्तार सिथिल हुँदै गएको छ । एकातिर जग्गाको भाउ अचाक्ली बढेको र अर्कोतिर वित्तीय प्रणालीमा तरलता अभाव हुँदा एक पछि अर्को महिना घरजग्गा कारोबारमा मन्दी आईरहेको छ।

यस्तै अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गामा प्रवाह हुने कर्जामा कडाई गर्ने भनेपछि माघको तुलनामा फागुन महिनामा कारोबार झन सुस्ताउने अनुमान हुन थालेको छ।

चालु आर्थिक वर्षको सुरुवातबाटै वित्तीय प्रणालीमा तरलता अभावका कारण साउनदेखि नै घरजग्गा कारोबार खासै हुन सकेको थिएन । बैंकहरूले ऋण लगानी गर्न नसक्ने अवस्था आएपछि घरजग्गा कारोबार सुस्ताउँदै आएको छ।

माघमा घरजग्गा कारोबारमार्फत ३ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम फागुनमा घट्ने निश्चितप्रायः छ।

यो पनि पढ्नुहोस: दुर्घटनाको जोखिममा घरजग्गा कारोबार, प्लटिङ गर्नेदेखि एजेण्ट सम्मको उठिबासको संकेत

दुर्घटनाको जोखिममा घरजग्गा कारोबार

नेपालको घरजग्गा व्यवसाय तथा कारोबारको क्षेत्र औपचारिक भईसकेको छैन । यसकारण यो क्षेत्र जोखिममा पर्न सक्छ भनेर अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतले चेतावनी दिने बाहेक अर्को विकल्प सुझाउन पनि सक्ने अवस्था छैन।

असोज पछिको कारोबारले घरजग्गा कारोबार तत्कालै लयमा फर्किने अवस्था देखिएको छैन । पौष महिनाको कारोबारले त झन घरजग्गाको मन्दी अझै केही समय लम्बिन सक्ने देखाएको छ।

विप्रेषण आप्रवाह (रेमिट्यान्स) बाट अर्थतन्त्रको चेन घुम्ने नेपालमा अहिले रेमिट्यान्स घट्दो छ । रेमिट्यान्स घट्दो र महँगी बढ्दो छ । महँगी बढेका कारण विदेशबाट पठाएको रकम केवल घर खर्चमै खुम्चिँदा आफन्त विदेशमा भएकाहरुले घरजग्गा जोड्न सकेका छैनन्।

अहिले राष्ट्र बैंकले घरजग्गा कारोबारको इन्डेक्सको अध्ययन गरिरहेको छ । स्रोतका अनुसार राष्ट्र बैंकको अब प्रकाशित हुने अध्ययनले नाफा कमाउन बैंक तथा वित्तीय संस्थाबाट मोटो रकम ऋण लिएर घरजग्गामा लगानी गरेकाहरुको लगानी कुनैपनि बेला डुब्न सक्ने देखाउने छ।

‘घरजग्गाको मूल्य जति बढ्नुपर्ने हो, करिब करिब बढिसक्यो, नाफाक कमाउन करोडौ ऋण लिएर जग्गामा लगानी गरेकाहरुको लगानी फस्ने मात्रै होइन, डुब्ने हुने संकेत देखिएका छन्’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यो १ दशकमा भएको घरजग्गाको मूल्य वृद्धिलाई प्राकृतिक मान्न सकिन्न, घरजग्गाको मूल्य वृद्धिको अन्तिम बिन्दु टाढा छैन भन्ने नै देखिएको छ, त्यसकारण यो क्षेत्र दुर्घटनाकै जोखिममा छ।’

basobaasbasobaas nepalnepalreal estatereal estate businessrealestate

You May Also Like

More stories from Basobaas