Tourism

४ करोड लगानिसहित बन्दिपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । तनहुँको बन्दीपुर ऐतिहासिक पर्यटकीय नगरीका रुपमा प्रख्यात छ । बन्दीपुरबाट देखिने सुन्दर प्राकृतिक दृष्य र ऐतिहासिक संरचनाले सबैलाई मोहित गराउँछ । यसैबीच पछिल्लो समय निर्माण भइरहेको मुकुन्दसेन पर्खालले यहाँको चर्चा बढाएको छ ।

बन्दीपुर बजारबाट सुरु हुने मिनी ग्रेटवालको यात्रामा करिब तीन सय मिटर उकालो चढेपछि थानीमाई डाँडा पुगिन्छ । जहाँबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, निलगिरी, मनास्लु, लमजुङ र गणेश हिमालका दृश्य देखिन्छ । दक्षिणतर्फ पाल्पा बजार देखिन्छ ।

थानीमाई डाँडाबाट पश्चिमतर्फ मिनी ग्रेटवाल सुरु हुन्छ । बन्दिपुरको सौन्दर्यलाई अझै मनमोहक बनाउने योजना अनुरूप बन्दिपुर गाउँपालिकामा निर्माण भइरहेको मुकुन्दसेन पर्खाल ‘मिनी ग्रेटवाल’को उपनामले चर्चित छ । 

मुकुन्देश्वरी डाँडामा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ भएकाले पदमार्गसहितको पर्खाललाई ‘मुकुन्देश्वरी पर्खाल’ नामकरण गरिएको हो । 

निर्माणाधीन मुकुन्देश्वरी पर्खालले चाइनाको विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिनेछ । निर्माणको सुरुआती चरणमै ग्रेटवालको आकार लिएको मुकुन्दसेन पर्खालले बन्दीपुर पुग्ने जोकोहीको ध्यान खिच्दछ । 

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको करिब ३ किलोमिटर लामो ‘मिनी ग्रेटवाल’ स्थानीय ढुंगा प्रयोग गरी बनाइएको छ । 

पर्खालसँगै बन्दीपुर गाउँपालिका–२ को थानीमाई मन्दिरदेखि मुकुन्देश्वरी डाँडासम्म पदमार्ग निर्माण भइरहेको छ । 

हाल मिनी ग्रेटवालको ७५० मिटर पर्खाल निर्माण भइसकेको छ । भने ढुङ्गा छाप्ने काम बाँकी रहेको छ । करिब ४ करोड लागतमा पर्खाल निर्माण र बत्तीहरू जडानका लागि धर्मयास कन्ट्रक्सनलाई जिम्मा दिइएको छ । 

तीन मिटर फराकिलो पर्खालमा तीन सय ओटा बत्ती जडान गरिनेछ । पदमार्गको भुइँमा २५ MM को ढुङ्गा छाप्ने र भित्तामा १२.५ MM को मेसिनले काटेको स्थानीय बन्दिपुरको ढुङ्गा छाप्ने योजना रहेको छ । 

विश्व प्रसिद्ध ‘चीनको ग्रेटवाल’ झल्काउने पदमार्गसहितको पर्खालले  बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मिनी ग्रेटवालसँगै बन्दीपुरमा थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको छ । 

योजनाअन्तर्गत थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ ।

विभिन्न हिमशृङ्खला, पहाड, फाँट, नागबेली नदी लगायत प्राकृतिक तथा धार्मिक, ऐतिहासिक संरचनालाई नियाल्न बन्दिपुरमा देश तथा विदेशबाट पर्यटक आउने गर्छन् । यहाँका घरहरूमा  परम्परागत भक्तपुरे शैलीको कलात्मक झ्यालढोकाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It