News

पोखराको २८ रोपनी जग्गा बेच्दै महावीर पुन

By BabinaFebruary 28, 20232 min read
पोखराको २८ रोपनी जग्गा बेच्दै महावीर पुन

काठमाडौं । कृषि औजार कारखाना चलाउन महावीर पुनले जग्गा बिक्री गर्ने भएका छन् । राष्ट्रिय आविष्कार  केन्द्रलाई ठुलो रकम आवश्यक परेको भन्दै पुनले केन्द्रलाई ६ वर्ष अगाडि आफैले दान दिएको जग्गा बिक्री गर्ने घोषणा गरेका हुन् । 

गत शनिबार फेसबुक स्ट्याटस मार्फत पुनले पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री घोषणा गरेका हुन् । उनले २०७३ साल साउनमा फेसबुकमा स्ट्याटस लेखेर सो जग्गा केन्द्रलाई दान दिएको घोषणा गरेका थिए । 

उनको फेसबुक स्ट्याटसमा भनिएको छ, ‘पोखरा नजिकै को २८ रोपनी जग्गा बिक्रीमा छ ! ईच्छा र पैसा हुनेले किन्नु होस् !! यो जग्गा बेचेर आएको पैसा बीरगंजको कृषि औजार कारखानामा र यो बर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग हुनेछ । जसरी भए पनि नबेची नछाड्ने हो ।

यदि तपाइँहरुले डांडाको टुप्पोमा होटेल रिसोर्ट खोल्न वा आश्रम बनाउन वा ध्यान केन्द्र बनाउन वा मनोरंजन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जीन्दगी बिताउनको लागी जग्गा खोज्नु भएको छ भने तल फोटोमा देखाइएको 28 रोपनी जग्गा बिक्रीमा छ । यो जग्गा मेरो नाममा छ तर पाँच बर्ष अगाडी नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो । यसको पैसा आविष्कार केन्द्रलाई जान्छ । जग्गाको मुल्य त्यो क्षेत्रमा चलेको दर भाउ हुनेछ । मैले सुने अनुसार त्यो क्षत्रमा मोटामोटी एक रोपनीको  ३० देखि ५० लाख रुपैंया जति छ रे । त्यो जग्गा बाट पोखराको अन्तराष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिन्छ । यो जग्गा भएको ठाउँको नाम ठुलाकोट हो । जग्गा सम्म पीच बाटो गएको छ र बिजुली छ ।

नोट: जति सक्दो छिटो यो जग्गा बेच्नु पर्छ ।  कुरा एकदमै गम्भीर छ ।  कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउड़ाउनु होला र ख्याल ठट्टा नगर्नु होला । साँच्चि कै किन्ने ले मात्र मलाई फोन गर्नु होला ।’ 

पोखराको २८ रोपनी जग्गा बेच्दै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाइरहेका समाजसेवी महावीर पुनले आफ्नो निजी जग्गा दान गर्ने घोषणा ६ वर्ष अघि नै गरेका थिए । पर्वत बन्बरेका पदम राईसँग मिलेर २० वर्षअघि किनेको सो जग्गाको मूल्य त्यति बेला तीन करोड रुपैयाँ रहेको उनको भनाई थियो । अहिले त्यसको मूल्य १४ करोडको हाराहारीमा हुने देखिएको छ । 

पोखराको २८ रोपनी जग्गा बेच्दै महावीर पुन

जग्गा किन्ने बेलामा नै पुनले भविष्यमा समुदायहरूलाई फाइदा हुने कामको लागि प्रयोग गर्ने भनेर किनेको बताएका थिए । सोहीअनुसार दान गरेको महावीरले त्यही बेला बताएका थिए ।

पैसाको आवश्यक परेमा सो जग्गा बिक्री गर्ने वा त्यहाँ अनुसन्धानको लागि भौतिक संरचना बनाइने पुनको ६ वर्ष अघिको घोषणा अनुसार अहिले जग्गा बिक्रीमा राखिएको छ । कतिपयले त्यो नबेच्न समेत उनलाई फेसबुक मार्फत नै सल्लाह दिएका छन् । आफ्नो नाममा भौतिक सम्पत्तिका रूपमा रहेको सबै जग्गा उनले दान गर्दै देश विकासको लागि आफ्नो बाँकी सम्पूर्ण जीवन लगाउने यसअघि नै घोषणा गरिसकेका छन् ।

land for sellmahabir punMahavir Pun selling land in PokharaNational Innovation Centerpokhara

You May Also Like

More stories from Basobaas