Lifestyle

आज महाअष्टमीः महागौरी र भद्रकालीको उपासना गरि मनाइदैँ 

Pinterest LinkedIn Tumblr

 सुन्नुहोस्ः

काठमाडौं । आज नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमी । महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरि मनाइँदै छ । वैदिक सनातन परम्परा अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाआराधना गरि मनाइन्छ । 

महाअष्टमीमा गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा ससाना ढुङ्गालाई नवदेवीका प्रतिमाका रुपमा स्थापना गरि नैवेद्य, फलफूल चढाएर पूजा गर्ने गरिन्छ । आजको दिन दशैँघर र कोतका साथै देशका विभिन्न शक्तिपीठहरूमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ ।

प्रचलित किम्वदन्ती अनुसार, ‘महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘काली’ भन्ने शब्द प्रयोग गरे । सो शब्द भगवतीलाई मन परेन । उनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त  गरिन् । त्यसैले उनलाई महागौरी भनिएको हो भन्ने  विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरूपमा महागौरी हुन्छिन् भन्ने पुराणमा उल्लेख छ । दुर्गाका यिनै नौ रूपलाई नवदुर्गा भनिएको हो ।’ महागौरीलाई शिव भगवानको शक्ति मानिन्छ । महागौरीको पूजा गर्नाले चित्त शान्त हुने र विवाह सम्बन्धी सम्पूर्ण समस्याको निराकरण हुने विश्वास छ ।

महाकाली

आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ । श्री स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार, ‘सतिदेवीले पिता दक्षप्रजापतिले आफ्ना पति महादेवको निन्दा गरेको सहन नसकेर अग्निकुण्डमा हाम फालेर आत्मदाह गरेकी थिइन् । यी सबै कुरा थाहा पाएर रिसले चुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् । शक्तिकी महास्वरूपा महागौरी र भद्रकाली स्वरूपको अनुष्ठान गरिसकेपछि आजको दिन वलीदिने चलन छ । वलीमा बोका, कुखुरा, हाँस आदि चढाइन्छ । शाकाहारी र वली दिन नचाहनेले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो ससाना लठ्ठी हालेर जनावरको स्वरूप बनाइ वलीको औपचारिकता पुरा गर्दछन् ।

तलेजु भवानी मन्दिर
तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

हनुमान ढाकास्थित तलेजु भवानी मन्दिरको दशैँ घरमा ५४ वटा राँगा र ५४ वटा बोकाको वली दिइन्छ । काठमाण्डौं उपत्यका वरिपरिका शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा विशेष पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ ।

त्यसैगरी सप्तरीको कंकालिनी देवीको मन्दिर, छिन्नमस्ता मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको, विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँचीको सुपा देउराली मन्दिर, विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वली चढाइन्छ । 

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।

महाअष्टमीको मध्यरात अर्थात् नवमीको शुरूवातमा बलि सहित असुर संहारकर्ता कालदुर्गे कालरात्रिको पूजा गरिन्छ । आजै आफूले प्रयोग गर्ने खुकुरी, तरबार, खड्गहरु जस्ता फलामका घरेलु औजार, कलपुर्जा र सवारी साधनलाई पनि दशैँ घरमा राखेर विशेष पुजाआजा गर्ने गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार तथा कोतखानामा रहेका अन्य हतियारहरुको पनि यस दिन पूजा गरिन्छ ।

शास्त्रमा पशुवलिको विधान कत्तिको तर्कसंगत छ त !

देवतालाई खुसी पार्न जनावरको बली दिइने प्रचलन भएपनि जनावरको जीवन लिएर देवी देवता खुशी हुने तथ्य तर्कसंगत छैन ।  वलीको अर्थ हिंसा नभएर मनुष्यमा रहेको काम, क्रोध लोभ, मोह अहंकर रुपी पशुलाई भगवतीको चरणमा अर्पण गर्नु हो । साथै हिन्दु धर्मका कुनै ग्रन्थले सतोगुणको धरातलबाट पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि समेत गरेको छैन । “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने धर्मले वेद आदि शास्त्रमा मनुष्यको लक्ष्य सतोगुणको धरातलमा पनि बलि दिनु भनेको छ ।

पशुको बलि दिने सनातन धर्म शास्त्रले ईश्वरमा चढ़ाएको प्रसाद मात्र खानु भनेर निर्देशन दिएको छ । यसको मतलब यो हो की देवीदेवता सतो गुणी भएकाले सतो गुणी मात्र चढ़ाउन मिल्ने भयो यसरी सतो गुणी मात्र मनुष्यहरूले खाउन । तर अज्ञानीहरूले उल्टो बुझे । जे आफु खान्छन सबै चढाउन थाले ।

 हिन्दु नेपालीहरूको महान पर्व दशैंको रुप समयसँगै बद्लिँदो छ । परम्परागत शैलीलाई तोडमोड गरेर मनाउन थालिएको छ । आधुनिकताको नाममा सनातन धर्म परम्परा रितिथितीलाई छोड्न हुदैँन । यद्यपि सनातन धर्मसंस्कृति र परम्पराभित्रका अस्वभाविक संस्कार, परम्परालाई परिमार्जन गर्दै समाजलाई परिवेश अनुकुल बनाउनपर्छ । असत्यमाथि सत्यको विजय भएको अवसरमा मनाउन थालिएको विजयादशमी अर्थात वडादशैंको सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
Pin It