News

तरलता अभाव र राष्ट्र बैंकको कडाइको असर घरजग्गामा, काठमाडौंको राजस्वमा कमी

By BN EditorialApril 3, 20173 min read
तरलता अभाव र राष्ट्र बैंकको कडाइको असर घरजग्गामा, काठमाडौंको राजस्वमा कमी

बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि यसको सीधा असर घरजग्गाको कारोबारमा देखिएको छ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्न थालेपछि घरजग्गाको कारोबारमा सिथिलता छाएको हो ।

राजधानीका मालपोत कार्यालयहरुमा अहिले जग्गा किनवेच गर्न आउनेहरुको संख्या पातलिँदै गएको कर्मचारीहरु बताउँछन् । बैंकहरुले कर्जामा कडाई गरेसँगै जग्गाको कारोबारमा पनि मन्दी आएको उनीहरुको भनाइ छ ।

कात्तिक महिनादेखि सुरु भएकेा तरलता अभाव अहिलेसम्म कायम नै छ । बैंकहरुले अहिले पनि नयाँ कर्जा लगानी खासै गर्न सकेका छैनन् । यसअघि नै कर्जा दिने सम्झौता गरेका ऋणीहरुलाई मात्रै अहिले बैंकहरुले ऋण प्रदान गरिरहेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले अहिले पनि ऋण माग्दै आउने नयाँ ग्राहकलाई निराश बनाएर पठाउनु परेको छ ।

सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले तरलता अभावका कारण घरजग्गामा ऋण प्रदान गर्न नसकेको बताए ।
उनले भने ‘तरलता अभावका कारण लामो समयसम्म बैंकहरुले घरजग्गा तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने स्थिति थिएन, अहिले भने केहि बैंकले पुनः कर्जा दिन थालेका छन् ।’

भक्तपुर मालपोत कार्यालयका अनुसार माघ महिनाको तुलनामा फागुनमा घरजग्गा किनबेच गर्नेको संख्यामा कमी आएको छ । गत वर्ष माघको तुलनामा फागुनमा जग्गा किनबेच गर्नेको संख्या बढेको थियो ।

भक्तपुरको मालपोत कार्यालयमा गत वर्षकेा माघ महिनामा २ हजार ५ सय ७६ वटा घरजग्गा खरिद-विक्री पश्चात लिखत दर्ता भएका थिए । गत वर्षकै फागुनमा यस्तो लिखत संख्या बढेर २ हजार ६ सय ५ कायम भएको थियो ।

चालु आर्थिक वर्षको माघमा ३ हजार ४० वटा लिखत दर्ता भएका थिए । तर फागुन महिनामा भने यस्तो लिखतको संख्या घटेर २ हजार १ सय २४ कायम भएको छ ।

घट्यो सरकारको राजस्व

जग्गा किनबेच हुँदा सरकारलाई राजस्व प्राप्त हुन्छ । माघ महिनाको तुलनामा फागुन महिनामा जग्गा किनबेचबापत सरकारलाई हुने आम्दानीमा पनि कमी आएको देखिन्छ । उपत्यकामा धेरै जग्गा किनबेच हुने जिल्लाको रुपमा अहिले भक्तपुरलाई लिन सकिन्छ । किनकी काठमाडौंको अधिकांश जग्गामा घर निर्माण भइसकेका छन् ।

उपत्यकामा अधिक मात्रामा जग्गा किनबेच हुने भक्तपुर मालपोत कार्यालयमा नै यसको कारोबारमा कमी आएपछि यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत असर परेको छ ।

भक्तपुर मालपोत कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा जग्गा किनबेच बापत भक्तपुर मालपोतले दर्ता शुल्क १२ करोड ९३ लाख २२ हजार ४ सय ७२ रुपैयाँ प्राप्त भएको थियो । तर फागुन महिनामा भने यसमा गिरावट आउँदै दर्ता शुल्क १० करोड ६१ लाख ८५ हजार ९ सय ११ मा सिमित भएको छ ।

भक्तपुर मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिना फागुनदेखि घरजग्गाको किनबेचमा कमी आएको बताउँछन् ।
उनले भने ‘बाषिर्क लक्ष्य अनुसारको राजस्व हामीले उठाइसकेका छौ तर फागुनमा भने हामीले त्यो महिनामा प्राप्त गर्नुपर्ने राजस्व उठाउन सकेनौ ।’

प्लानिङ परमिट तथा ६ मिटरको बाटो राखेर मात्रै घर बनाउने प्राबधानका कारण समेत भक्तपुरमा पछिल्लो समय जग्गाको कारोबारमा कमी आएको पनि तिमल्सिनाले जानकारी दिए ।

काठमाडौंको राजस्वमा पनि कमी

काठमाडौंमा जग्गा भन्दा पनि धेरैजसो घरकै कारोबार हुने गर्दछ । त्यसैले भक्तपुरको तुलनामा काठमाडौं मालपोतमा महिनैपिच्छे दर्ता हुने लिखतको संख्या ज्यादै न्युन देखिन्छ ।

माघ महिनाको तुलनामा फागुनमा घरजग्गा किनबेचबापत काठमाडौं मालपोत कार्यालयले प्राप्त गर्ने राजस्वमा कमी आएको छ । माघ महिनामा १५ करोड ९५ लाख ३३ हजार २ सय २२ रुपैयाँ राज्यलाई प्राप्त भएकोमा फागुन महिनामा यो घटेर ११ करोड ४१ लाख ७६ हजार ८ सय ५१ रुपैयाँ कायम भएको छ ।

लिखतको संख्या भने माघको तुलनामा फागुनमा बृद्धि भएको छ । तर गत वर्षको फागुनको तुलनामा भने चालु आर्थिक वर्षको सोही अवधिमा दर्ता हुने लिखतको संख्यामा कमी आएको देखिन्छ ।

Source: Onlinekhabar

kathmandulandtax

You May Also Like

More stories from Basobaas