Lifestyle

थोरै जग्गा र कम बजेटमा यसरी बनाउन सकिन्छ घर

Pinterest LinkedIn Tumblr

सहरमा जग्गा किनेर घर बनाउने रहर कसलाई हुँदैन ? तर काठमाडौं, पोखरा, भरतपुर, नेपालगन्ज, विराटनगर, बुटवलजस्ता सहरमा जग्गाको भाउ यति धेरै माथि चढ्यो कि सामान्य मान्छेले तीन चार आना क्षेत्रफलको टुक्रा घडेरी किन्ने आँट पनि गर्न सक्दैन । घर बनाउने त झन् परको कुरा भयो । तर पनि तपाईंहामीमध्ये धेरैले आफूसँग भएको, बचत अनि ऋण सापटी गरेर तीनचार आना जग्गा जोडेका हुन सक्छौं ।

थोरै जग्गामा भनेजस्तो घर बनाउन नसकिने भयो भन्ने चिन्ताले पनि हामीलाई सताइरहेकै हुन्छ । नआत्तिनुस्, थोरै जग्गामा पनि चिटिक्क परेका सुविधा सम्पन्न घर बनाउन सकिन्छ, त्यो पनि कम खर्चमा । त्यस्ता चार किसिमका निर्माण सामग्रीबारे यहाँ जानकारी दिइएको छ, जसलाई प्रयोग गरेर थोरै जग्गा र कर्म खर्चमा आफ्नो सपनाको घर बनाउन सकिन्छ ।

१. प्रिफ्याब घर

प्रिफ्याब अर्थात् प्रि-फेब्रिकेटेड बोर्डबाट बनेका घरहरु तुलनात्मक रुपमा सस्ता हुन्छन् । कम्पनीले उत्पादनकै क्रममा कटिङ गरेर विभिन्न आकारमा बोर्ड बजारमा पठाउँछन् । ग्राहकले आफूलाई आवश्यक पर्ने आकारअनुसार खरिद गर्न सक्छन् । निर्माण सेवा प्रदायक कम्पनीले नापअनुसार सिधै जग्गामा यस्ता बोर्ड जडान गरेर घर तयार पारिदिन्छन् ।

यस्ता बोर्डमध्ये पछिल्लो समय नेपालमा सिमेन्टका बोर्ड बढी चलनमा छन् । प्रिफ्याबको बाहिरी र भित्री भित्तामा क्याल्सियम सिलिकेटका पाता हुन्छन् । बीचको भागमा बालुवा, सिमेन्ट र थर्मोकोल केमिकल हाली बलियो बनाइएको हुन्छ । यसलाई बुझ्ने भाषामा सिमेन्ट स्यान्डविच बोर्ड भनिन्छ । यी बोर्डबाट निर्मित घर भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुन्छन् ।

प्रिफ्याब संरचना इँटाको तुलनामा तीनदेखि चार गुणा हलुका हुन्छ । कुनै पनि निर्माण सामग्री हलुका हुनुको अर्थ लागत पनि घट्नु हो । व्यापारिक कम्प्लेक्सहरूमा यस्ता बोर्ड कोठा विभाजनका लागि प्रयोग गर्नाले भवनको भार कम हुन्छ । इँटा, सिमेन्टजस्ता निर्माण सामग्री पनि नचाहिने हुँदा सस्तो पर्न जान्छ । आवासीय घरमा पनि यो प्रविधि उपयोगी मानिएको छ । यसले घर निर्माण गर्न लाग्ने लागतमात्रै होइन, समय पनि घटाउँछ । यस्तो बोर्डहरु ५० एमएमदेखि एक सय २० एमएमसम्मको मोटाइमा पाइन्छन् । जति मोटो बोर्ड प्रयोग गर्‍यो संरचना पनि उति नै बलियो बन्छ ।

२. एसवाइ प्यानल

एसवाइ प्यानल पनि प्रिफ्याब बोर्डजस्तै देखिने वैकल्पिक निर्माण सामग्री हो । एक तले घर वा भित्री पर्खाल विभाजन गर्न यो प्यानल बढी उपयोगी हुन्छ । प्यानलबाटै कम सयम र थोरै लागतमा सिंगै घर बनाउन पनि सकिन्छ ।

यस्तो प्यानल बनाउँदा थर्मोकोल प्रयोग गरिन्छ जसले थर्मल इन्सुलेसन प्रवाह गर्छ । यसले घरलाई चिसोमा न्यानो र गर्मीमा शीतल राख्न सहयोग गर्छ । यस्तो बोर्डको बाहिरी सतहमा प्लास्टर गर्न वा रङ लगाउन पर्दैन । जसले गर्दा घर निर्माणमा खर्च कम हुन्छ । यो प्यानलबाट बनेको संरचना सजिलै अर्को स्थानमा सार्न पनि सकिन्छ ।

३. एएसी ब्लक

एएसी (अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लक) इँटाको विकल्प हो । यस्तो ब्लक सिमेन्ट, आलुमिनियमको धुलो, चुना, बालुवा लगायतको मिश्रणबाट बनेको हुन्छ । पछिल्लो समय घर निर्माणमा एएसी ब्लकको चलन बढेको छ । मुख्यगरी अग्ला र व्यावसायिक भवन निर्माणमा यसको बढी प्रयोग हुन्छ ।

यी ब्लक इँटाभन्दा हलुका हुन्छन् र घर बनाउँदा संख्या पनि कम भए पुग्छ । यसबाट समय र खर्च दुवै जोगिन्छ । आरसिसी घरमा पनि कोठा विभाजन र बाहिरी भित्ताहरूमै एएसी ब्लक प्रयोग गर्न सकिन्छ । चार इन्च, छ इन्च र आठ इन्च चौडाइमा यस्ता ब्लक पाइन्छन् । इँटाको तुलनामा यस्ता ब्लक प्रयोग गर्दा १५ देखि २० प्रतिशतसम्म खर्च कम हुन्छ । आरसिसीको सट्टामा स्टिलको संरचना राखी एएसी ब्लक प्रयोग गरेर दुई तलासम्मको घर बनाउन सकिन्छ ।

४. इन्टरलकिङ ब्रिक

यो परम्परागत इँटाको विकल्पमा तयार पारिएको इँटा हो । २०७२ सालको भूकम्पपछि नेपालमा यो इँटाको उपयोगिता बढेको छ । यस्ता इँटाको बीचमा प्वाल हुन्छ । यो प्वालमा ६ एमएम फलामे तार प्रयोग गरिएको हुन्छ । जसले गर्दा इँटाहरू एकअर्कामा लक हुन्छन् ।

यो प्रविधिलाई सरकारले पनि मान्यता दिएको छ । निर्माणस्थलमै बसेर स्थानीयले उत्पादन गर्न सक्ने भएकाले ग्रामीण भेगमा लोकप्रिय हुँदै गएको छ । ग्रामिण भेगका भुइँतले घर बनाउन यो इँटा उपयुक्त हुने इन्जिनियरहरु बताउँछन् । एकअर्कामा लक हुने भएकाले एकतले घर बनाउन पिलर उठाउनु पनि पर्दैन । सिमेन्ट, बालुवा र माटोको मिश्रण मेसिनमा रोखर यस्तो इँटा तयार पारिन्छ । तयार पारेको २१ दिनपछि प्रयोग गर्न सकिन्छ ।

माथि चर्चा गरिएका विकल्पमध्ये प्रिफ्याब र एसवाइ प्यानल बोर्ड पूरै घरको विकल्प हो भने एएसी ब्लक र इन्टरलकिङ ब्रिक परम्परागत इँटाको विकल्प हो। प्रिफ्याब र एसवाइ प्यानललाई स्टिलको फ्रेम आवश्यकता पर्छ भने एएसी र इन्टरलकिङ, स्टिल र आरसिसी दुवै फ्रेममा प्रयोग गर्न सकिन्छ। पछिल्लो समय खर्च हिसाबले स्टिल संरचना लोकप्रिय हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It