News

कारोबार चलायमान बनाउन किस्ताबन्दीमा जग्गा बेच्दै व्यवसायी, २०% डाउन पेमेन्ट, २० हजार किस्ता !

By BN EditorialMarch 3, 20223 min read
कारोबार  चलायमान बनाउन किस्ताबन्दीमा जग्गा बेच्दै व्यवसायी, २०% डाउन पेमेन्ट, २० हजार किस्ता !

लामो समयदेखि जग्गा विक्री नहुँदा मारमा परेका घरजग्गा व्यवसायीहरूले यतिबेला किस्ताबन्दीमै भएपनि घरजग्गा बेच्ने योजना सार्वजनिक गर्न थालेका छन् ।

२० प्रतिशत मात्रै डाउन पेमेन्ट लिएर १२ देखि १५ प्रतिशत ब्याजदरमा घडेरी विक्री गरिरहेको घरजग्गा व्यवसायीहरूले बताएका छन् ।

चितवन स्थित एसआर मिराकल इन्भेष्टमेन्ट प्रालीले भरतपुर महानगरपालिका २५ चनौलीमा विकास गरेका १०० भन्दा धेरै घडेरीहरू किस्ताबन्दीमा विक्रीका लागि राखेको छ ।

१५ देखि २० लाख रुपैयाँ सम्म मूल्य तोकिएका घडेरीहरू कम्पनीले २० देखि ४० प्रतिशत सम्म डाउन पेमेन्ट लिएर विक्री गरिरहेको छ । १२ प्रतिशत ब्याजदरमा सहकारीबाट ५ वर्षका लागि ऋण समेत आफैले उपलब्ध गराउने कम्पनीको भनाई छ ।

‘२०, ३०, ४० जति प्रतिशत डाउन पेमेन्ट गरेपनि क्रेताको नाममा जग्गा रजिष्ट्रेशन गरिदिन्छौ ।’ एसआरका प्रतिनिधि कुमार शर्माले भने, ‘५ वर्षका लागि सहकारीबाट १२ प्रतिशत ब्याजदरमै ऋणको व्यवस्था पनि गरिदिएका छौ ।’

चितवनमा अहिले धेरै जसो व्यवसायीहरूले किस्ताबन्दीमा जग्गा बेच्न शुरु गरेको घरजग्गा व्यवसायी दिनेशलाल चुकेले अभियानलाई बताए ।

चितवन महानगरमा १० देखि १५ लाख रुपैयाँमा पनि सजिलै घडेरी पाउन सकिन्छ । मुख्य बाटो र बजारबाट कति नजिक/टाढा छ भन्ने कुराले जग्गाको मूल्य केही तलमाथि भएपनि औषतमा १५ लाख रुपैयाँमै राम्रै मोहडा भएको घडेरी पाइने चुकेले बताए ।

महानगरको मापदण्ड अनुसार कम्तिमा ६ मिटर (२० फिट) बाटो हुन्छ नै । कसैले ३०/६० फिटको घडेरी बेच्छन् भने कसैले २५/३५ फिटको घडेरी बेच्ने गरेको उनले बताए ।

काठमाडौंमा पनि किस्ताबन्दीमा घडेरी

उपत्यका बाहिर मात्रै नभएर काठमाडौंमा पनि किस्ताबन्दीमा घडेरीहरू विक्री भइरहेका छन् । ललतिपुर, भक्तपुर क्षेत्रमा केही व्यवसायीहरूले ३० देखि ४० प्रतिशत सम्म डाउन पेमेन्ट लिएर किस्ता बन्दीमा घडेरी विक्री गरिरहेको व्यवसायीले बताएका छन् ।

ललितपुरको गोदावरी, चापागाउँ क्षेत्रमा काम गर्ने जनश्री डेभलपर्सले विगत ३/४ वर्ष अघिदेखि नै किस्ताबन्दीमा घडेरी विक्री गरिरहेको छ ।

संस्थागत व्यवसायीहरूले विकास गरेका हाउजिङ परियोजनामा घर किन्दा सबै जसो कम्पनीले किस्ताबन्दीको सुविधा दिने भएपनि जग्गा मात्रै किन्दा थोरै कम्पनीले मात्रै किस्ता बन्दीको सुविधा दिने गरेका छन् ।

किस्ताबन्दीमा किन्दा कति पर्छ सावा/ब्यजा?

किस्ताबन्दीमा घडेरी लिदा तपाईंले जति धेरै डाउन पेमेन्ट गर्न सक्यो त्यति नै थोरै ब्याज खर्च पर्छ । १५ लाख रुपैयाँमा पाइने १० धुर घडेरी किन्न ४० प्रतिशत डाउनपेमेन्ट गर्दा ६ लाख रुपैयाँ शुरुमै तिर्नुपर्छ । बाँकी ९ लाख रुपैयाँ भने ऋण लिनुपर्छ ।

९ लाख रुपैयाँ ऋणको १२ प्रतिशत ब्याजदरले मासिक २० हजार रुपैयाँ किस्ता तिर्दा ५ वर्षमा उक्त घडेरी फेरि विक्री गर्न सकिन्छ । तर त्यो ५ वर्षमा खरिद कर्ताले ९ लाख रुपैयाँ सावा रकमको ३ लाख रुपैयाँ भन्दा बढी ब्याज गरी कुल १२ लाख रुपैयाँ भन्दा बढी तिर्नुपर्छ ।

त्यही जग्गा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर किन्दा भने शुरुमा ३ लाख रुपैयाँ तिर्नुपर्छ । बाँकी रहेको १२ लाख रुपैयाँ ऋणलाई १२ प्रतिशत ब्याजदर सहित ५ वर्षमा तिर्दा मासिक २६ हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्छ । यसो गर्दा ५ वर्षमा १२ लाख रुपैयाँ सावाको ४ लाख रुपैयाँ ब्याज तिर्नु पर्छ ।

कसैले ५० प्रतिशतनै डाउन पेमेन्ट गरेर जग्गा किनेको खण्डमा भने मासिक १६ हजार रुपैयाँ मात्रै किस्ता तिर्नुपर्ने देखिन्छ । जस अनुसार ५ वर्षमा उसले थप साढे २ लाख रुपैयाँ ब्याज तिर्नुपर्छ । यदी वित्तीय संस्थाको ब्याजदर बढी भएको खण्डमा भने मासिक किस्ता देखि कुल ब्याज भुक्तानी सम्ममा केही बढी रकम तिर्नुपर्ने हुन सक्छ ।

घरजग्गा क्षेत्र चलायमान बनाउन सहज

यतिबेला जग्गा किन्न चाहनेहरू बजारमा भएपनि हात हातै पैसा नभएका कारण जग्गाको किनबेच निकै घटेको छ । यसरी किस्ताबन्दीमा दिदा थोरै पैसा हातमा भएका र नियमित आम्दानी हुनेहरूले सहज तरिकाले घरजग्गा जोड्न सक्ने जग्गा व्यवसायीको विश्वास छ ।

basobaasbasobaas nepallandreal estatereal estate business

You May Also Like

More stories from Basobaas