News

५ अर्ब बढी लगानीको टाइगर प्यालेस रिसोर्टको सबै जग्गा रोक्का

By BabinaMay 23, 20232 min read
५ अर्ब बढी लगानीको टाइगर प्यालेस रिसोर्टको सबै जग्गा रोक्का

काठमाडौं । रूपन्देहीको कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको सबै जग्गा रोक्का भएको छ । रिसोर्ट र मूल संस्था सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको नाममा हदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएपछि भैरहवास्थित मालपोत कार्यालयले रोक्का गरेको हो । 

रिसोर्ट र मूल संस्थाको नाममा रहेको १३ बिघा १५ कट्ठा जग्गामा भवन र टहरा निर्माण गरीएको छ । जहाँ होटल, क्यासिनो, रेस्टुरेन्ट, स्विमिङ पुल र अन्य प्रयोजनका लागि भोगचलन भइरहेको छ । प्राइम बैंकको साढे २ अर्ब बढी लगानी रहेको रिसोर्टमा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ ।

प्रारम्भिक छानबिनमा हदबन्दीभन्दा बढी देखिएकाले जग्गा रोक्का राखेर विस्तृत छानबिन सुरु गरिएको मालपोत कार्यालयले जनाएको छ । गत बिहीबार नै टाइगर प्यालेस रिसोर्टलाई सात दिनभित्र उपस्थित हुन जानकारीसहितको पत्र पठाइएको छ ।

टाइगर वान रिसोर्ट प्रालिले ०७१ जेठ २२ मा तुलसीराम जिसी, सीता न्यौपाने, निमकला भुसाल, सुमित्रा पुन, दुर्गाकुमारी न्यौपाने, गंगा केसी, मीनराज भुसाललगायतका नामबाट १३ बिघा १५ कट्ठा जग्गा खरिद गरेको देखिन्छ । 

सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप लागेपछि कम्पनीले जग्गा हदबन्दीको विवाद हुन सक्ने आशंकामा ०७३ वैशाख २२ गते अर्को कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका नाममा ४ बिघा बिक्री गरेको देखाएको छ । 

हाल टाइगर प्यालेस रिसोर्टका नाममा रूपन्देहीमा मात्र ९ बिघा १५ कट्ठा जग्गा छ । यद्यपि छानबिनका क्रममा दुवै संस्था एकै समूहको भएको देखिएकाले रोक्का गरिएको कार्यालयले जनाएको छ ।

जग्गाको हदबन्दीसम्बन्धी कार्यविधि ०५८ अनुसार नेपालभर राख्न पाउने जग्गाको हद १० बिघा मात्र छ । त्यसमा व्यक्ति वा घर परिवारका नाममा थप १ बिघा राख्न पाउने व्यवस्था छ । ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिए उक्त जग्गा सरकारले जफत गर्न सक्ने व्यवस्था छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा ०७४ सालमा हङकङको बहुराष्ट्रिय कम्पनी टाइगर वान प्रालिका नाममा खुलेको रिसोर्ट सुरुदेखि नै जग्गा विवादमा पर्दै आएको छ । यसअघि अदालतले समेत होटलले सार्वजनिक जग्गामा संरचना बनाएको भन्दै रोक्न आदेश दिएको थियो ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

5 star hotelkotihawaLand Revenue OfficePrime BankRupandehiSilver Heritage Investments PvtTiger Palace Resort

You May Also Like

More stories from Basobaas