काठमाडौं । कोटेश्वर-जडीबुटी सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–19 ले तोकिएको समयभन्दा झन्डै सात महिनापछि निर्माण सम्पन्न हुने चरणमा पुगेको हो ।
वर्षौदेखि काठमाडौं सडक डिभिजन कार्यालय र सडक विभागले हटाउन नसकेको जडीबुटीको रातो घरको संरचना काठमाडौं महानगरले दुई महिना अगाडि हटाएपछि निर्माण प्रक्रिया अगाडि बढाइएको थियो ।
हाल कोटेश्वर जडीबुटी सडक खण्डमा ओभरले र फुटपाथ निर्माणको काम भइरहेको छ । सडक कालोपत्रे गर्ने काम सम्पन्न भएपनि फुटपाथ बनाउन केही समय लाग्न सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
विस्तारित सडक आइतबारदेखि नियमित रुपमा सवारी आवागमनका लागि प्रयोगमा आउने छ । अब यो सडक हुँदै यात्रा गर्नेहरूले ट्राफिक जामको समस्या झेल्नुपर्ने छैन ।
विद्युतको पोल हटाउन नसक्दा केही समय निर्माण कामले तिव्रता पाउन सकेको थिएन । यस क्षेत्रमा ४ वटा बिजुलीको पोललगायत अन्डरग्राउन्ड केबल राखिएको थियो ।
कोटेश्वर-जडीबुटी सडक ६ लेनमा विस्तार गर्न ६४ लाखमा ठेक्का भएको थियो । कोटेश्वरबाट जडीबुटीतर्फ जाने बायाँ साइडमा आकासेपुलदेखि जडीबुटी चोकसम्म मात्र सडक विस्तार गर्न बाँकी थियो । रातो घरको संरचनाका कारण ६ लेनको अति व्यस्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । अब भने उक्त जाम धेरै कम हुने सडक डिभिजन कार्यलयले जनाएको छ ।
डिभिजन कार्यालयले कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारका लागि २०७७ पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ३ लेनको सडक विस्तार गर्ने गरि ७ करोड ८१ लाख लागतमा ठेक्का तुँदी/सुसन जेभिले पाएको थियो ।