Lifestyle

कोजाग्रत पूर्णिमाः टीकाजमराको समापन र आकाशदीप प्रज्वलन

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्ः

 

काठमाडौं । नेपालीहरूको महान् चाड वडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । घटस्थापनाको दिनबाट देखि सुरु भएको वडादशैँ आज रातभर जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरी समापन गरिन्छ ।

कोजाग्रत पूजाविधि र महत्वः

दशैँको टीका कोजाग्रत पूर्णिमाको दिन समापन गरिन्छ । घटस्थापनाका दिन दसैँघर र कोतहरूमा राखिएका जमरा विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजाअर्चना गरी बडादसैं समापन भएको सूचना दिने प्रचलन छ । नवरात्री विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा मात्र सकिन्छ । यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वती मध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गर्ने मान्यता रहेको छ ।

आजको दिन चन्द्रमाबाट अमृत बर्सिने विश्वास गरिन्छ । त्यसैले आज रातभर जाग्राम बसेर चन्द्रमा तथा लक्ष्मीको आरधना गर्ने प्रचलन रहेको छ । आजको दिन चन्द्रमा सबैभन्दा नजिक हुने भएकाले चन्द्रमा बलियो हुन्छ । चन्द्रमाको किरणले पृथ्वीलाई उज्यालो बनाइ मानिसको जीवनमा पनि खुसी ल्याउने विश्वास गरिन्छ ।

कोजाग्रतको पौराणिक कथनः

कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मी ‘रातभर को जागेको छ’ भनेर मर्त्यलोक भ्रमण गर्ने गर्दछिन् ।  रातमा जाग्राम बसेकाहरूको घरमा प्रवेश गरी धनधान्य तथा ऐश्वर्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । आज रातभर जागा बसी लक्ष्मीको आरधना गर्नाले धन र वैभवको आर्शीवाद मिल्ने विश्वास छ । आजकै दिन घरघरमा रातभर बत्ती बालिन्छ ।  कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।

आजबाट एक महिनासम्म घरघरमा अग्लो बाँस राखेर त्यसमा आकाशदीप बाल्ने गरिन्छ । आकाशदीपलाई ‘आलोकदीप’ पनि भनिन्छ । प्रचलित जनश्रुतिअनुसार कात्तिक महिना पवित्र महिना भएकाले अँध्यारो रातमा आकाशचारी देव, गन्धर्व, किन्नर, सिद्ध, ऋषि आदिले कतै बाटो नभुलुन् भनेर त्यसरी आकाशदीप बालेको भन्ने लोककथन छ । 

धनसम्पत्ति र सौभाग्य प्राप्तिका लागि कात्तिक महिनाभर बाँस, पलाँस, खयर वा पीपलको लिंगो ठड्याइ भगवान् विष्णुलाई दीप समर्पण गर्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना स्वरूप तुलसी पूजा पनि यसै दिनदेखि नै सुरु हुन्छ । कात्तिक महिनाभर स्नान गरी तुलसी पूजा गर्नाले जानीनजानी गरिएका सम्पूर्ण पापबाट मुक्त भइने धार्मिक विश्वास छ ।

कोजाग्रत पूर्णिमा र आकाशदीपः

आकाशदीप

विजया दशमीमा दानव प्रवृत्तिमाथि मानवी वा दैवीशक्तिको विजय अर्थात् अन्धकारमाथि प्रकाशको विजय भएको खुसियालीमा तीनै लोकमा बत्ती बालेर हर्षोल्लासका साथ यो उत्सव मनाइएको जनविश्वास छ । युद्ध विजयको अवसरमा आकाशदीप बाल्ने प्राचीन परम्परा नेपाल बाहेकका देशमा पनि रहेको पाइ्न्छ । ‘पाँचौं शताब्दीमा मलेसियाको अभिलेखमा श्री मूल वर्मा राजाले विजयको उपलक्ष्यमा आकाशदीप बालेको वर्णन गरिएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It