News

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गरिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । अत्यधिक दोहनका कारण बस्ती जोखिममा परेपछि कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । पछिल्लो समय नदिको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि तटबन्ध कार्य थालिएको हो ।

कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैधरुपमा दोहनका कारण कालीगण्डकीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुङ्गामा तटबन्ध कार्य थालिएको हो । 

कालीगण्डकीले बागलुङतर्फ बढी हकटान गरिरहेको छ । मालढुङ्गा बस्ती जोगाउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले तारजालीसमेत हाल्न थालेको छ ।

चालु आर्थिक वर्षमा मालढुङ्गाको तटीय बस्ती, मालढुङ्गा प्रहरी चौकी, मन्दिरलगायत संरचना जोगाउन ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । ६५ लाख रुपैयाँ खर्च गरी पक्की पर्खाल बनाइएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

जिल्लामा सङ्घीय आयोजनामार्फत १४ र गण्डकी प्रदेश सरकार अन्तर्गतका २० योजना सञ्चालित छन् । कालीगण्डकी नदी, काठेखोला, निसीखोला, बडिगाड खोला, दरमखोला र गौदीखोलालगायतका नदीको कटान रोकी नदीलाई आफ्नै धारमा बगाउन तटबन्ध गरिँदै आएको छ ।

यस्तै बागलुङको प्रवेशद्वार कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले सो क्षेत्रमा पर्खाल निर्माण गरेको छ । 

चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेशका ४३ नदी नियन्त्रणका योजनामध्ये २० भन्दा बढीको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । नदी नियन्त्रणका लागि सङ्घीय सरकारले २ करोड ५० लाख र गण्डकी प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It