News

६४ अर्बमा निर्माण हुन लागेको ‘चीन–नेपाल औद्योगिक पार्क’ को ‘पिडिए’ वार्ता सुरु

By BabinaApril 5, 20232 min read
६४ अर्बमा निर्माण हुन लागेको ‘चीन–नेपाल औद्योगिक पार्क’ को ‘पिडिए’ वार्ता सुरु

काठमाडौं । झापामा निर्माण हुन लागेको चीन–नेपाल औद्योगिक पार्क’का लागि आयोजना विकास सम्झौता (पिडिए) छलफल सुरु हुने भएको छ । छलफलका लागि चिनियाँ कम्पनीका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

प्रारम्भिक चरणको पिडिए वार्ताका लागि नेपाल लगानी बोर्ड र विकासकर्ता चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनीबीच बुधबारबाट छलफल सुरु हुने भएको हो । 

नेपाल लगानी बोर्डले औद्योगिक पार्कको पिडिए मस्यौदा तयार पारी छलफलमा ल्याएको छ । प्रारम्भिक छलफल सुरु भएपनि पिडिएमा हस्ताक्षर हुन एक वर्ष लाग्ने अनुमान छ । 

सम्झौतापश्चात पार्क बनाउन चिनिया निर्माण कम्पनीले लगानी जुटाउने छ । औद्योगिक पार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत लगानी बोर्डले गरिसकेको छ । 

बोर्डको ४७ औं बैठकले पार्क बनाउन चिनियाँ कम्पनीले गर्न लागेको ६४ अर्ब रुपैयाँ लगानी ६ चरणमा नेपाल भित्रिने छ । नेपालको तर्फबाट पार्क निर्माणका लागि जमिनबाहेक थप लगानी नहुने जनाइएको छ । 

दमकस्थित रतुवा नदीआसपासमा २ हजार २ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण हुनेछ । कमल गाउँपालिकामा पार्क बनाउन प्रस्ताव गरिएपनि यसले दमक नगरपालिका र गौरादह नगरपालिकाका क्षेत्र ओगट्छ । भने निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

लगानी, आकार र सञ्चालनका हिसाबले यो पार्क नेपालकै सबैभन्दा ठूलो र नमुना हुनेछ । भने दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने जनाएको छ । 

औद्योगिक पार्कमा होमअप्लायन्सका सामान, खाद्यान्न प्रशोधन, विद्युतीय सवारीदेखि मोबाइलसम्म उत्पादन कम्पनी, टेक्सटायल तथा गार्मेन्ट उत्पादन उद्योग हुनेछन् । 

हालसम्म त्यस्ता २६ कम्पनी पार्कभित्र रहने निश्चित भएको र बाँकी ९८ वटा प्रक्रियामा रहेको जनाइएको छ । पहिलो चरणमा कृषि र खाद्यजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडीदेखि मोबाइल फोनसमेत औद्योगिक पार्कमा उत्पादन हुने छ । पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वास्थ्य संस्था पनि रहने कम्पनीले जनाएको छ ।

भारत, भुटान र बंगलदेशसँग नजिकको नेपाली भूभागमा रहने पार्कमा विश्वबजारका प्रख्यात कम्पनी भित्रिने निश्चित भएको पार्क व्यवस्थापनले जनाएको छ ।

औद्योगिक पार्क बनेपछि १० हजार भन्दा धेरैले रोजगारी पाउने छन् । औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजस्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने अपेक्षा गरिएको छ । 

चार चरणमा निर्माण हुने औद्योगिक पार्क सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलको पहिलो गैरजलविद्युत अर्थात् पानी बाहेक  आयोजना हो । औद्योगिक पार्क बनाउन पहिलोपटक विदेशी लगानी आउन लागेको हो । 

पार्कमा सञ्चालन हुने उद्योगसँग स्थानीय तहले कम्तीमा १० वर्षसम्म कर नलिने घोषणा गरेका छन् । औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । 

China-Nepal Industrial ParkIndustrial ParkNepal Investment Board

You May Also Like

More stories from Basobaas