Lifestyle

किन गरिन्छ वडा दशैंको अघि नै सोह्रश्राद्ध !

By BabinaSeptember 10, 20224 min read
किन गरिन्छ वडा दशैंको अघि नै सोह्रश्राद्ध !

सुन्नुहोस्ः

काठमाडौं । हिन्दु धर्ममा आस्था राख्नेहरूले देवता र पितृप्रति समान श्रद्धा भाव राख्दछन् । जसरी देवकार्यका लागि पूजाआजाको महत्व हुन्छ, त्यसैगरी पितृकार्यलाई पनि विशेष महत्व दिइन्छ । मृत प्रियजन तथा मान्यजनप्रति सन्ततीको झुकावले मृतआत्माले शान्ति प्राप्त गर्छन भन्ने विश्वासका साथ श्राद्ध गर्ने चलन रहिआएको छ । विशेष कार्य गर्नुअघि पितृलाई सम्झिने र भाग छुट्याउने गरिन्छ । त्यस्तै बडादशैँ सुरु हुनुअघि तिथिअनुसार मृत आत्मालाई स्मृति गर्दै श्रद्धा प्रकट गर्ने समय हो, ‘सोह्रश्राद्ध’ ।

सोह्रश्राद्ध

हिन्दुहरूको महान् चाड वडा दशैँको १६ दिन अगाडिको समयलाई सोह्रश्राद्ध भन्ने गरिन्छ । आश्विन कृष्ण प्रतिपदालाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिधादान र पिण्डदान गरिने ‘सोह्रश्राद्ध’ सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ ओटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण सिधादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । 

 सोह्रश्राद्ध

सोह्रश्राद्ध पितृहरूको सम्झनाका लागि उत्तम समय मानिन्छ । यो समयमा सूर्य कन्या राशिमा रहन्छ । जुन ज्योतिष गणनाले हेर्दा पितृहरूको अनुकूल हुने ज्योतिष र धर्मशास्त्रीहरू बताउँछन् ।  

सोह्रश्राद्ध किन गरिन्छ?

सोह्रश्राद्ध सूर्य दक्षिणायन भएको बेलामा पर्दछ । यस अवधीमा गरिएको पितृ कार्यलाई पवित्र मानिन्छ । पितृ औँशीको दिन पुत्रले आफ्ना पितापक्षमातापक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गरिन्छ । धर्मशास्त्रहरूमा उल्लेख भएअनुसार पितृहरू सोह्रश्राद्धको समयमा पिण्ड र पानीको खोजीमा मर्त्यलोकमा आँउछन् । यस अवसरमा शास्त्रीय रुपमा कर्म नगरे पितृले सन्तानलाई श्राप दिई फर्कने धर्मग्रन्थहरूमा उल्लेख छ ।

सोह्रश्राद्धमा श्रद्धा भक्तिका साथ पितृलाई पिण्ड दिने, सम्झने, दान गर्ने गर्दा दायित्वबोध हुने र पितृदोषबाट मुक्ति मिल्ले विश्वास छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवङ्गत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृहरूले मोक्ष प्राप्त गर्ने विश्वास छ । 

पितृकर्म अर्थात श्राद्ध वर्षमा दुईपटक गरिन्छ । नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को सोह्र श्राद्धको अवधिमा गरिन्छ । ठूला माङ्गलिक कार्य गर्नु अघि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाहरूको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित छन् । 

तिथिअनुसार श्राद्धः

sorha sradda

आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा –  यस तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्ति छैनन् वा तिनका मृत्युतिथि थाहा छैन भने शुक्ल प्रतिपदा तिथिका दिन श्राद्ध गर्नु उत्तम मानिन्छ । यस दिन श्राद्ध गर्दा पितृको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धि प्राप्ति पनि हुन्छ भन्ने गरिन्छ ।

आश्वीन कृष्णपक्ष चतुर्दशी- यस तिथिमा अकाल मृत्यु भएकाहरूको श्राद्ध गर्नु उत्तम मानिन्छ । 

आश्विन कृष्णपक्ष पञ्चमी- अविवाहित  परिजनहरूको श्राद्ध गर्नु यस तिथि राम्रो मानिन्छ । यसलाई कुमार पञ्चमी पनि भनिन्छ ।

आश्वीन कृष्णपक्ष नवमी- यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई मातृनवमी पनि भनिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास छ ।

आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी- यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने गरिन्छ जसले संन्यास लिएका हुन्छन् । 

आश्वीन कृष्णपक्ष अमावस्या- कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध गर्न विघ्न परेमा अथवा कुनै पनि पितृ तिथि सम्झना नभएको खण्डमा यस तिथिमा श्राद्ध गर्न सकिन्छ । यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता रहेको छ ।

 सोह्रश्राद्धको अवधिभर यी कुराहरू गर्न हुँदैनः

सोह्रश्राद्धको समयमा कुनै पनि पुजाआजाको थालनी गर्नु हुदैँन । तर पहिलेदेखी गर्दै आएको नित्यपुजा साप्ताहिक व्रतहरू भने यो समयमा पनि गर्न मिल्छ । तर यस समयमा शङ्ख घण्टको आवाज निकाल्नु राम्रो मानिदैन । सोह्रश्राद्ध भरि सकेसम्म रातो फूल, अविर र अक्षता प्रयोग गर्नु राम्रो मानिँदैन । श्राद्धपक्षका पन्ध्र दिन कुरो छिन्ने, विवाह/व्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ । त्यस्तै मोटरगाडी, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । 

सामान्यतया नयाँ व्यापार, व्यवसाय, उद्योगधन्दा वा कलकारखानाको थालनी गर्नु राम्रो नहुने मान्यता छ । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन भन्ने गरिन्छ । तर श्राद्धाधिकार नभएका व्यक्ति वा बाबुआमा, सासुससुरा भएका स्त्री पुरूषका लागि भने कुनै बन्देज छैन ।

सोह्रश्राद्धको अवधिमा यी खानेकुरा खान हुँदैनः

सोह्रश्राद्धको अवधिभर घरमा माछामासु खान र कुनैपनि प्रकारको मादक पदार्थको सेवन गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, लसुन, प्याज,कोदो, तीते फापर, बिरेनुन, कुबिन्डो, भेन्टा,गोलभेडा लगायतका खाद्यवस्तु तथा तरकारीको प्रयोग गर्नु हुँदैन । त्यस्तै; श्राद्धको दिन खेतबारी जोत्न, खन्न, दाउरा काट्न, नाचगान गर्न पनि निषेध गरिएको छ । 

एकछाकी र श्राद्धका भएको दिन तत्काल धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । यी दुबै दिन शरीरमा सुन, तेल र सावुनको प्रयोग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन । र रातमा भुइँमा एकसरो ओछ्यान लगाएर सुत्नुपर्ने शास्त्रीय मान्यता छ ।

 

 सोह्रश्राद्ध

अन्त्यमा, सनातन परम्पराअनुसार मृत्युतिथिमा खोलाको किनार, दोभान, त्रिवेणी, धाट लगाएत अन्य तिर्थस्थलमा वा घरमा पुरोहित डाकी पितृको नाममा श्राद्ध तथा तर्पण गर्ने गरिन्छ । यदि परिजनहरूको मृत्युतिथि थाहा छैन वा कारणबस मृत्युतिथिमा श्राद्ध गर्न नमिलेको खण्डमा औंसीको दिन पारेर पनि गर्ने गरिन्छ । यसरी श्राद्ध गर्दा हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । आज उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

importance of sorha shraddhashould not be eaten during Sohrasraddhasorha shraddha

You May Also Like

More stories from Basobaas