काठमाडौं । सुर्खेतमा स्थानीय खोला तथा नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन बढेको छ । जिल्लाका विभिन्न स्थानबाट बालुवा गिटी, ढुङ्गा उत्खनन गरेर निकासी भइरहेको पाइएको हो ।
अवैध उत्खनन तथा निकासीको जानकारी पाएपछि निगरानीका क्रममा जिल्ला प्रहरीले दुईवटा मालबाहक गाडी नियन्त्रणमा लिएको छ । अवैध रूपले उत्खनन कार्यमा संलग्नहरूको खोजीसँगै नियमन कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी नै नदीजन्य पदार्थको अवैध उत्खनन र निकासीमा संलग्नता रहेको आरोप समेत लगाइएको छ । यद्यपि आरोप आधारहीन भएको जिकिर गर्दै, संलग्नता भएको पाइए कडा कारबाही हुने स्थानीय प्रहरीको भनाइ छ । अवैध नदीजन्य पदार्थ दोहन भइरहेको जानकारी जोकोहीले पाउने बित्तिकै प्रहरीलाई सूचना आग्रह गरेको छ ।
अवैध ढंगले ढुङ्गा गिट्टी बालुवा उत्खनन हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले मेसिन प्रयोग गर्न नपाइने नियम बनाएको छ । यद्यपि मानिसले बेल्चाले बालुवा गिटी, ढुङ्गा उत्खनन गर्दा समय बढी लाग्नुका साथै फाइदा कम हुने हुँदा मेसिनको प्रयोग गरी चोरी तस्करी हुने गरेको छ ।
अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन कार्य रोक्न स्पेसल टास्क फोर्स गठन गरि अनुगमन कार्य बढाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले गरेको वातावरणीय प्रभाव मूल्याङ्कनमा समेत ढुङ्गा–गिट्टी–बालुवा सङ्कलन कार्यका लागि मेसिनको प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।
उता सदरमुकाम आसपासका खोला तथा नदीबाट अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यको नियन्त्रणमा प्रहरीको समेत सक्रियता बढेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र बराहताल गाउँपालिकाबाट अवैधरूपमा बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी चोरी निकासी गर्ने कार्य अहिले पनि रोकिएको छैन ।
तस्करले दिन मात्र होइन, रातको समयमा खोला तथा नदी किनारमा स्काभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा गिट्टी, ढुङ्गाको उत्खनन कार्य जारी राखेको स्थानीय बताउँछन् ।