Tourism

बाग्लुङ जिल्लाको आकर्षण ओदानडाँडामा पर्यटकको घुईंचो 

Pinterest LinkedIn Tumblr

काठमाडौं । गण्डकी प्रदेशको उत्तर–पश्चिममा अवस्थित बाग्लुङ सानो नेपाल, झोलुङ्गे पुलको जिल्लाको रुपमा परिचित छ । हिजोआज प्राकृतिक दृष्य र ऐतिहासिक संरचनाले सबैलाई मोहित गराउने बाग्लुङ जिल्लाको  परिचयसँग जोडिएर ‘ओदानडाँडा’को चर्चा हुन थालेको छ । 

बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित ऐतिहाँसिक महत्व बोकेको ओदानडाँडालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पछिल्लो दुई वर्षयता थुप्रै पूर्वाधार निर्माण भएका छन् । 

ओदानडाँडामा आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको छ । जुन बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको थियो । ओदान खसेको हुनाले सो स्थानलाई ओदानडाँडा नामकरण गरिएको थियो । 

हाल ओदानडाँडा आउनेको पर्यटकको सङ्ख्या बाक्लो छ । रेश जाने सडक सुधार भएको खण्डमा धार्मिक पर्यटकको चाप बढ्ने देखिन्छ । हालसम्म ओदानडाँडामा पूर्वाधार निर्माणका लागि करिब ४० लाख रूपैयाँ खर्च भइसकेको छ । 

ओदानडाँडाको संरक्षण र विकासका लागि स्थानीय, गण्डकी प्रदेश र पालिकाको सहयोगमा पूर्वाधार निर्माण कार्य भइरहेको छ । 

ओदान स्थापित मन्दिर र सत्तल मात्रै रहेको स्थानमा हाल पदमार्ग, प्रवेशद्वार, आकर्षक पानीको फोहोरासहितको पोखरी, व्यवस्थित सत्तल र जग्गा व्यवस्थापनको काम भएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न काठेखोला गाउँपालिका र वडा कार्यालयले चार लाख खर्चिए । त्यस्तै, चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको सामाजिक विकास कार्यालय बागलुङको सात लाख र वडा कार्यालयको १ लाख ५० हजार तथा स्थानीयबाट सङ्कलित गरेको २५ लाख रुपैयाँ ओदानडाँडामा पूर्वाधार निर्माणका लागि छुट्याइएको छ । 

स्थानीय सहयोगदाताले एक हजारदेखि एक लाख ११ हजार रुपैयाँसम्म ओदानडाँडा संरक्षणमा रकम तथा भौतिक पूर्वाधारका सामग्री सहयोग गरेका थिए । 

पालिकाको गुरुयोजना अन्तर्गत सत्तल व्यवस्थापन, एक सय मिटर तारबार, शिवमूर्तिसहितको पानीको फोहोरा, पदमार्ग निर्माण हुनेछन् । 

त्यसैगरी मन्दिर परिसरमा रेलिङ, प्रवेशद्वार, एक सय आठ शिवलिङ्ग, एक सय आठ केजीको तामाको ओदान, मन्दिर अगाडिको जग्गा व्यवस्थापन, पक्की प्राङ्गण निर्माण र तीन सय मिटर लामो पक्की पदमार्ग निर्माण गरिनेछ ।

हाल मन्दिरमा सय मिटर जाली, ओदानडाँडादेखि खर्दाङ र खर्दाङदेखि धनीखोरिया झोलुङ्गे पुल निर्माण गर्ने र ओदानडाँडादेखि दामगाडेसम्म पक्की पदमार्ग बनाउने र शौचालय व्यवस्थापनको काम बाँकी छ । 

ओदानडाँडाको ऐतिहाँसिक रहस्यः

बाइसेचौबिसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेका थिए । सोही बेला गौतम थरका एक पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने भविष्यवाणी गरे । चलिरहेको काममा बाधा बोलेको भन्दै राजाले पुजारीलाई कारबाही गरे । 

केहि समयपछि कोट निर्माण भएकै स्थानमा पुजारीले भनेबमोजिम नै ओदान सहितको बज्र खस्यो । पछि हेर्दा एक खुट्टा भाँचिएको ओदान भेटिपछि त्यसलाई संरक्षण गरी राखिएको थियो । त्यसकारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयहरूको भनाइ छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It