News

शुक्रबारदेखि ग्वार्कोमा फ्लाइओभरको निर्माण शुरू, ट्राफिक व्यवस्थापन प्रभावित 

By BabinaDecember 5, 20221 min read
शुक्रबारदेखि ग्वार्कोमा फ्लाइओभरको निर्माण शुरू, ट्राफिक व्यवस्थापन प्रभावित 

काठमाडौ । आगामी शुक्रबार देखि ललितपुरको ग्वार्कोमा फ्लाइ ओभर निर्माण सुरु हुने भएको छ । ४५५ मिटर लामो फ्लाइओभर निर्माणको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रे जेभिले आगामी शुक्रबार बिहान ६ बजेबाट फिल्डमा काम सुरु गर्ने जनाएको हो । 

उक्त फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

सुरुमा त्यहाँ ब्यारेकेडहरू राखेर काम सुरु गरिने र जमिन खन्ने लगायतका काम गर्न भने अझै समय लाग्ने सडक विभागले जनाएको छ । चक्रपथको चार लेनमा बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ । भने फ्लाइओभर ३५ मिटर हुनेछ । 

चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विभागको  विश्वास छ । 

फ्लाइओभर निर्माण भएपछि इमाडोल-पाटन गुड्ने सवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् । 

ठेक्का सम्झौता अनुसार कम्पनीले ४ महिनामा डिजाइनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी २० महिनामा निर्माण गरी २ वर्षमा सबै काम सम्पन्न गरिसक्नुपर्ने छ । 

जेभिले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी फ्लाइओभर निर्माणको जिम्मा लिएको हो । फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेकोमा कम्पनीले अनुमानित लागतभन्दा करिब ३८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको थियो । 

ट्राफिक व्यवस्थापन प्रभावितः

शुक्रबारदेखि ग्वार्कोमा फ्लाइओभरको निर्माण शुरू, ट्राफिक व्यवस्थापन प्रभावित

अत्यधिक ट्राफिक जाम हुने क्षेत्रमा बन्न लागेको यस फ्लाइओभरले सवारीसाधनको चापबाट हुने समस्यामा राहत पुग्ने अपेक्षा गरिएको  भएपनि हालका लागि सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । 

आइतबार एक सूचना जारी गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर २३ गतेदेखि काम सम्पन्न नहुन्जेलसम्मका लागि सवारी लेन तोकेको छ ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आवतजावत गर्ने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, कोटेश्वरबाट सातदोबाटोतर्फ आवतजावत गर्ने सबै सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने तयारी छ । 

flyoverGwarko flyoverlength of gwarko flyoverNepal's first flyover

You May Also Like

More stories from Basobaas