News

किर्तिपुरस्थित दुई रोपनी जग्गा नक्कली छोरालाई नामसारी

Pinterest LinkedIn Tumblr

काठमाडौं । मृतकको नाममा रहेको करिब दुई रोपनी जग्गा नक्कली छोराको नाममा सारिएको पाइएको छ । काठमाडौंको किर्तिपुरस्थित जग्गा मालपोतका कर्मचारीकै मिलेमतोमा नामसारी गरिएको पाइएको हो ।

मालपोत कार्यालय कलंकीले मृतकको नाममा रहेको जग्गा नक्कली कागजपत्र बनाइ नक्कली छोरालाई नामसारी गरिदिएको हो ।

कीर्तिपुरको साबिक वडा नम्बर ३ स्थित कित्ता नम्बर २०३ मा पर्ने सो जग्गा उमादेवी गुरुङको नाममा रहेको छ ।०७४ भदौ २६ गते उमादेवीको मृत्यु भएपछि पनि सो जग्गा उनकै नाममा थियो । 

तर मकवानपुर जिल्लाको टिस्टुङ घर भएका सतराज गुरुङले उमादेवी आफ्नो आमा भएको भन्दै नक्कली मृत्युदर्ता तथा नाता प्रमाणित प्रमाणपत्र बनाएका थिए । 

तिनै कागजपत्र मालपोत कार्यालयमा पेस गरी करिब दुई रोपनी जग्गा गत १८ साउन ०७९ मा आफ्नो नाममा ल्याएका थिए । 

जग्गा हत्याएर बिक्री गर्न खोज्दा वास्तविक जग्गाधनीले थाहा पाएर प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा गुरुङलाई आइतबार प्रहरीले पक्राउ गर्यो । 

पक्राउ पश्चात संगठित लिखत किर्ते तथा ठगी मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको थप अनुसन्धान थालेको छ । साथै मालपोत कार्यालयले सो जग्गा रोक्का राखेको छ । 

अनुसन्धानका क्रममा सतराजले सो जग्गा विभिन्न व्यक्ति र निकायको सहयोगमा आफ्नो नाममा ल्याएको खुलेको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It