काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्दा लागेको साढे १२ करोड ऋण तिरिदिने भएको छ । चितवनस्थित रङ्गशाला निर्माणका क्रममा धुर्मुससुन्तली फाउन्डेसनले दाबी गरेको १८ करोडमध्ये साढे १२ करोड ऋण सरकारले तिर्ने भएको हो ।
भरतपुर महानगरलाई रङ्गशाला हस्तान्तरण गर्दैगर्दा फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको उल्लेख गरेका थिए ।
सरकारले उक्त ऋण रकमबारे छानबिन गर्न बनाएको समितिले साढे १२ करोडमात्रै ऋण मूल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन अनुसार सरकारले साढे १२ करोड ऋण तिर्ने निर्णय गरेको जनाइएको छ ।
ऋण रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेसनलाई उपलब्ध गराइनेछ ।
सरकारले ऋण रकम तिरेपछि सम्पूर्ण स्वामित्व लिइ बाँकी निर्माण कार्य अघि बढाउनेछ । जसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आवश्यक प्राविधिक सहयोग लिने तयारी भइसकेको छ ।
गौतमबुद्ध रङ्गशाला वि.सं २०७७ साल साउनबाट रङ्गशाला निर्माणको काम रोकिएको थियो ।