Market

नयाँ बानेश्वरको १५ आना सरकारी जग्गा व्यक्तिको नाममा

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिका-१० थापागाउँस्थित १५ आना १ पैसा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । काठमाडौं मालपोत कार्यालयको तथ्यांकअनुसार थापागाउँस्थित १२७ नम्बर कित्ताको जग्गा  प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीको नाममा १३ कात्तिक ०५३ मा दर्ता भएको पाइएको हो । 

प्रेमरमण र दीपकरमण सहोदार दाजुभाइ हुन् । २०२१ को नापी नक्सामा उक्त जग्गा पर्ती भनी उल्लेख भएको देखिन्छ । तथ्यांकअनुसार १७ वैशाख ०५३ सम्म पनि सो जग्गा पर्ती नै रहेको छ । तर त्यसको करिब ७ महिनापछि जग्गा प्रेमरमण र दीपकरमणको नाममा नामसारी भएको देखिन्छ । कित्ता नम्बर १२७ को जग्गा हाल पाठशाला स्कुललाई भाडामा दिइएको छ । हाल सो जग्गाको बजार मूल्य १५ करोड रुपैयाँभन्दा बढि छ । 

मालपोत कार्यालयमा उपलब्ध विवरणअनुसार जग्गाको नियमित तिरो बुझाउँदै आएको दलिल पेस गर्दै उप्रेती दाजुभाइले २०५३ वैशाख १२ गते जग्गा आफ्नो नाममा दर्ता गराउन मालपोत कार्यालयमा निवदेन पेस गरेका थिए । निवेदनमा साबिकको महादेवस्थान (हाल थापागाउँ) स्थित कित्ता नम्बर ६ (ख) ४५४ को २ रोपनी ४ आना ३ पैसा १ दाम र कित्ता नंं. ६ (ख) ११६ को २ आना जग्गा आफ्नो नाममा नामसारी गर्ने व्यहोरा उल्लेख छ । 

सोही निवेदनको अन्तिममा २०४५ असार ३१ गते अंशबन्डामा प्रेमरमण उप्रेतीको नाममा रहेको कित्ता नम्बर ६ (ख) ७९ को  १ रोपनी १२ आना २ पैसा जग्गा आफ्नो नाममा नामसारी गर्न उल्लेख गरिएको छ । जसमध्ये १३ आना एक पैसा तीन दाम जग्गा हाल पनि सार्वजनिक नै छ । 

बाँकी १५ आना १ पैसा जग्गा भने व्यक्तिको नाममा दर्ता भएको छ । हाल कायम गरिएको कित्ता नम्बर १२७ सोही जग्गाको हो ।

उप्रेती दाजुभाइको निवेदनपछि मालपोतले २०५३ वैशाख १७ गते विवरण खुलाई पठाएको पत्र जारी गरेको थियो । पत्रमा कित्ता नम्बर १२७ को १५ आना १ पैसा जग्गाको धनी प्रेमरमण उप्रेती रहेको भनिएको छ, तर सोही पत्रको बुँदा नम्बर ६ मा १२७ को जग्गा दर्ता हुन बाँकी भनी उल्लेख भएको देखिन्छ । 

२०५३ असार १२ मा मालपोतले तयार पारेको पत्रअनुसार सोही जग्गा लक्ष्मणरमण (प्रेमरमण र दीपकरमणका बुबा)को नाममा रहेको, उनको मृत्युपछि उक्त जग्गाको स्रेस्ता प्रेमरमणकै नाममा रहेको र अब उक्त जग्गा संयुक्त (प्रेमरमण र दीपकरमण) नाममा नामसारी हुन बाँकी रहेको उल्लेख छ । 

०२१ र ०४८ मा तयार फिल्डबुकमा जग्गाको तिरो प्रेमरमणले नै तिरेको देखिन्छ । तर, जग्गाधनीको महलमा भने उक्त जग्गा पर्ती भनी उल्लेख छ । त्यस्तै, उक्त जग्गाको मोही पनि कोही नभएको उल्लेख छ । 

वडा कार्यलयले समेत उक्त जग्गा सरकारी रहेको र जालसाजीपूर्वक व्यक्तिकोे नाममा दर्ता भएको जनाएको छ । यस सम्बन्धमा वडाले कागजात झिकाई अनुसन्धान गरिरहेको छ । उप्रेती परिवारले भने पहिलेदेखि जग्गाको तिरो परिवारले यस विषयमा त्यति जानकारी नरहेको र कानुनले जे भन्छ सोही  स्वीकार गर्ने जनाएका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It