काठमाडौं । गोरखा जिल्ला धार्चे गाउँपालिका–४, लाप्राकस्थित गुप्सीपाखाका भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन् । एकीकृत नमुना बस्तीका ५ सय ५४ भूकम्प गएको झण्डै आठ वर्षपछि लालपुर्जा पाएका हुन् ।
भूकम्प पिडितको पुनःस्थापनाका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा उक्त नमुना बस्ती निर्माण गरिएको थियो । नमूना बस्तीका ५ सय ७३ मध्ये पाँच सय ५४ परिवारले लालपुर्जा प्राप्त गरेका छन् ।
बाँकी रहेका भूकम्पपीडित परिवारलाई चाँडै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
पुस महिनामा थप २ सय ७४ जनालाई लालपुर्जा वितरण गर्ने गाउँपालिकाको योजना रहेको छ । २०७७ सालदेखि पहिलो चरणमा २ सय ८० घरपरिवारले लालपुर्जा पाएपछि वितरण रोकिएको थियो ।
जिल्ला मालपोत कार्यालयको टोली एकीकृत बस्तीका भूकम्प पीडितलाई लालपुर्जा वितरण गर्न लाप्राक पुगेका थिए । लालपूर्जा वितरण गर्न बाँकि रहेकामध्ये केही विदेशमा रहेका र केहीको मृत्यु भइसकेकाले ढिलाइ भएको गाउँपालिकाले जनाएको छ ।
०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले लाप्राकको पुरानो बस्ती ध्वस्त भएको थियो । सो बस्ती पुनःस्थापना गर्न गुप्सीपाखाको सरकारी जग्गामा मन्त्रिपरिष्दबाट स्वीकृति लिएर निर्माण गरिएको हो ।
एनआरएनएले लाप्राकमा १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जमिनमा वस्ती निर्माण गरेको हो । जहाँ प्रत्येक परिवारका लागि करिब तीन आना जग्गामा घर निर्माण गरिएको छ । दुई तलामा निर्माण भएका प्रत्येक घरहरूमा चार कोठा रहेका छन् । त्यस्तै प्रत्येक घरका लागि छुट्टै शौचालयको समेत व्यवस्था गरिएको छ ।