Market

बाटो फराकिलो बनाउन ‘आफ्नै घरमा’ डोजर लगाउने मेयर

Pinterest LinkedIn Tumblr

काठमाडौं । दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घरमा डोजर लगाएर सडक फराकिलो बनाउने अभियान सुरु गरेका छन् । चौधरीले बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घर डोजरमार्फत् भत्काएर हुलाकी सडक विस्तार सुरु गरेका हुन् ।

मेयर चौधरीको घर भत्काएर सडक विस्तार अभियान सुरु गर्ने क्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी, मेयर चौधरी, प्रहरी र अन्य जनप्रतिनिधिहरु घर भत्काउने स्थानमा पुगेका थिए ।
भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही-कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको थियो । त्यसक्रममा ३६ करोड बढी बजेट मुआब्जामा खर्च भएको छ ।

हुलाकी सडक औपचारिक रुपमा नेपाल सरकारलाई २०७७ साल चैत १८ गते हस्तान्तरण भएको थियो । तर लमही बजार क्षेत्रमा भने सडक साँघुरो छ । त्यहीभएर लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

यसअघि सडक डिभिजन कार्यालय दाङले साउन २९ गते सूचना निकालेर सडकको दायाँ-बायाँ १५/१५ मिटर क्षेत्रमा परेका सबै संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । सो अवधिभित्र कसैले आफैं घर तथा संरचना नहटाए सडक डिभिजन कार्यालयले आफैं हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घर धनीबाट असुल्ने चेतावनी दिएको छ ।

स्थानीयले भने जग्गाको मुआब्जा पाए पनि घरको पनि क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् । स्थानीय ३२ जनाले घरको क्षतिपूर्ति माग गर्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It