Market

खोलाको कलभर्टले कपन क्षेत्रमा बाढीको जोखिम 

Pinterest LinkedIn Tumblr

काठमाडौं । यज्ञमती खोलामा कलभर्टकै कारण वर्षामा परेको पानीको सहज निकास नहुँदा कपन क्षेत्रमा बाढीको जोखिम बढेको छ । बक्स कलभर्ट निर्माणमा भएको चरम लापरबाहीका कारण कपन क्षेत्र डुबानमा परेको हो । 

खोलाको किनार मिचेर घर निर्माण गरेका कारण गत बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म पनि कपनको आनीगुम्बादेखि प्रहरी विभाग कपनसम्मको क्षेत्र डुबानमा परे । तर बुढानीलकण्ठ नगरपालिकाले काठमाडौँ महानगरपालिकाले खुला गरेको चखुँचाखोलामा हालिएको बाँसको पुल खस्दा पानी रोकिएर बाढी बस्तीतिर सोझिएको दाबी गरेको छ । 

काठमाडौँ महानगरपालिका ६ र बुढानीलकण्ठ नगरपालिका १०, ११ र १२ मा यज्ञमतीको नामोनिसान मेटिने गरी ढलमा रूपान्तरण गरिएको छ । यज्ञमतीको चारैतिर पक्की पर्खालको कुलो (बक्स कलभर्ट) निर्माण भइरहेको छ । 

चखुँचाखोला खोलेपछि काठमाडौँ महानगरपालिका ६ र ७ तर्फको किनारमा आठ मिटर चौडाइका सडक निर्माण भइरहेका छन् । तर बुढानीलकण्ठतर्फ खोलामाथि बस्ती विस्तार गरेपछि मुस्किलले केही स्थानमा दुई मिटरसम्मको बाटो निस्किने ठाउँ छ । 

अतिक्रमण भएको खोलाको भाग फिर्ता लिने र व्यवस्थित गर्ने काममा बुढानीलकण्ठ नगरपालिका तयारले कुनै पहल गरेको छैन । यज्ञमती खोलामाथि बक्स कलभर्ट निर्माण गर्ने र चखुँचाखोला किनारमा सडक निर्माण गरी व्यवस्थित गर्ने कार्य काठमाडौँ उपत्यका विकास प्राधिकरणले नै गरिरहेको छ ।

जगडोल हुँदै बगेर आनीगुम्बादेखि मिलनचोकसम्म आउने यज्ञमती र त्यसपछि धोबीखोलासम्म रहेको चखुँचाखोलामा दुईवटा ह्युमपाइप लगाएर छोपिएको थियो तर काठमाडौँ महानगरपालिकाले २०८० साउन २६ गते धोबीखोलादेखि मिलनचोकसम्म चखुँचाखोला पुरानै स्वरूपमा फर्काउन खुला गरेपछि प्राधिकरण सडक निर्माण गरी खोला व्यवस्थित गर्न बाध्य भएको हो । 

प्राधिकरणले यज्ञमती खोला छोपेर कलभर्ट निर्माण गर्न २८ करोड ७४ लाख ३९ हजार ९५४ रुपैयाँ खर्च गरिरहेको छ । प्राधिकरणले ललितपुरको बालकुमारीमा कार्यालय रहेको हाई हिमालय पिआर जेभीलाई २०७८ जेठ ६ गते ठेक्का दिएको हो । उक्त कम्पनीले आनीगुम्बादेखि मिलनचोकसम्म यज्ञमतीखोलामा एक हजार ३६५ मिटरको बक्स कलभर्ट निर्माण गरिरहेको छ । 

महानगरतर्फ खोला किनारमा व्यवस्थित सडक निर्माण भइरहँदा बुढानीलण्ठतर्फ बाढीको समस्या यथावत् रहेको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It