News

करीब २० करोड लगानीमा हिमालयन ग्रेनाइट उद्योग खुल्दै, सयौं कामदारलाई रोजगारीको अवसर

By BabinaNovember 28, 20222 min read
करीब २० करोड लगानीमा हिमालयन ग्रेनाइट उद्योग खुल्दै, सयौं कामदारलाई रोजगारीको अवसर

काठमाडौं । हिजोआज निर्माण हुने घर तथा भवनमा आधुनिक निर्माण सामग्रीको प्रयोग बढेको छ । यस्ता सामग्री प्रायजसो बाहिरी देशबाट आयात हुनेहुँदा मूल्य पनि महंगो पर्न जान्छ । त्यस्तै पछिल्लो समय धेरै घर तथा भवनहरूमा ‘ग्रेनाइट स्ल्याब’को प्रयोग भएको पाइन्छ । जसको उत्पादन अब नेपालमा नै हुने भएको छ । 

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गरी शतप्रतिशत स्वदेशी लगानीको हिमालयन ग्रेनाइट प्रालिले ग्रेनाइट स्ल्याब उत्पादन गर्ने तयारी गरेको हो । 

नेपालमा हालसम्म ग्रेनाइट उत्पादन गर्ने उद्योग नहुँदा छिमेकी देश भारतको राजस्थानबाट तयारी ग्रेनाइट आयात हुँदै आइरहेको छ । 

ग्रेनाइट उद्योग स्थापनाका लागि १९ करोड ४० लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । जसमध्ये १५ करोड रुपैयाँ स्थिर पुँजी र चार करोड ४० लाख रुपैयाँ चालु पुँजी हुनेछ ।

हिमालय ग्रेनाइट उद्योगबाट विभिन्‍न साइजको २४ लाख स्क्वायर फिट ग्रेनाइट उत्पादन हुने बताइएको छ । जसका लागि ५ सय केभीए क्षमताको विद्यूत लाइन अवश्यक पर्नेछ । उद्योग सञ्‍चालनमा आएसँगै ७५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । 

नेपालको सन्दर्भमा टायल्स तथा मार्बल र ग्रेनाइटको उत्पादन गर्नु कम चुनौतिपूर्ण छैन । कच्चापदार्थका लागि समेत भारतसँगै निर्भर हुनपर्ने अवस्था छ । यसरी आयात खर्च महंगो पर्न जान्छ र उद्योग फाइदामा जाने सम्भावना न्युन हुन जान्छ । यद्यपि पछिल्लो समय केहि उद्योग व्यवसायीहरूले आँट गरेर उद्योगमा लगानी बढाइरहेका छन् । 

भारतीय र नेपाली व्यवसायीको संयूक्त लगानीमा सेरोमिक्स टायल्स उद्योग खोल्न लागिएको छ । भारतको कजरिया सेरामिक्स र नेपालको रमेश कर्पको चार अर्ब लगानीमा टायल्स उद्योग खुल्ने भएको हो ।

उद्योगमा दुबै समूहको बराबर अर्थात् ५०/५० प्रतिशत लगानी हुनेछ । २ अर्ब ५० करोड भारु अर्थात् ४ अर्ब नेपाली रुपैयाँ पुँजीको कम्पनी स्थापना हुने सम्झौतामा उल्लेख छ ।

सेरामिक्स र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ  र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नवनिर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यसबाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टायल्स उत्पादनमा प्रयोग गरिनेछ ।

यी निर्माण सामग्रीको कच्चा पदार्थ काँचो माटो (क्ले) भारतको गुजरातमा मात्र पाइन्छ । ग्रेनाइट, मार्वल र टायल उत्पादन गर्न भारतबाट माटो आयात गर्नुपर्छ । उत्पादन प्रविधि पनि अत्यन्तै खर्चिलो रहेको उद्योगी बताउँछन् । 

first Granite Industry in nepalGranite IndustryHimalayan Granite IndustryModern building materials

You May Also Like

More stories from Basobaas