News

गिटी, बालुवाको ठेक्कामा भ्रष्टाचार गर्ने मेयर र अधिकृतसहित १० विरुद्ध मुद्दा दायर 

By BabinaAugust 30, 20232 min read
गिटी, बालुवाको ठेक्कामा भ्रष्टाचार गर्ने मेयर र अधिकृतसहित १० विरुद्ध मुद्दा दायर 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा र माटोको ठेक्कामा भ्रष्टाचार गर्ने १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण कम्पनीलाई सबा करोड रुपैयाँ छुट दिने पूर्व-मेयर र तत्कालीन निमित्त प्रमुख प्रशासकीयसहित १० विरुद्ध मुद्दा दायर गरिएको हो । 

आर्थिक वर्ष ०७६/७७ मा महाकाली नदीबाट ढुंगा, गिटी, बालुवा, ग्राभेल र माटोको रोयल्टी शुल्क ठेक्का सम्झौताविपरीत भएको अख्तियारले जनाएको छ । संघीय तथा प्रदेश सरकारको स्वीकृतिबिना छुट दिएर भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपमा अख्तियारले कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित विरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

मेयर बिष्टको अध्यक्षतामा नगरसभाको निर्णयले राजस्व छुट दिने मनसायले पाँच सदस्यीय कार्यदल गठन गरी त्यसैको सिफारिसका आधारमा एक करोड ३४ लाख ९७ हजार चार सय ५३ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिइएको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचारमा संलग्नहरू विरुद्ध छुट दिएको बराबरको रकमलाई नै बिगो कायम गरिएको छ । 

भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोपमा अख्तियारले नगरपालिकाको तत्कालीन राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा सदस्य तत्कालीन वडा नम्बर १७ का वडा अध्यक्ष हिमाल बहादुर चन्द, इन्जिनियर हिमालय सिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौँ) विक्रम भण्डारी र नायब सुब्बा नरेन्द्रदेव भट्टलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारी कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा बन्द रहेको अवस्थामा राजस्वसँग सम्बन्धित ठेक्का लगाइएको थियो । ठेकेदारले उत्खनन गरेको परिमाण र उत्खनन गर्न बाँकी परिमाणसमेतको हिसाब गरी राजस्व छुट दिन नमिल्ने प्रतिवेदन गर्नुपर्ने संघीय आर्थिक ऐन तथा प्रदेश आर्थिक ऐनविपरीत संवैधानिक तथा कानुनी क्षेत्राधिकारबाहिर गई राजस्व रकममा ८३ दिनको भ्याटसमेत छुट दिन सक्ने प्रतिवेदन पेस गरेर भ्रष्टाचार गरेको आरोप छ । 

अख्तियारले ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि, त्यसका सञ्चालक ईश्वरीप्रसाद भट्ट तथा उनकी पत्नी खगेश्वरी, केशवराज भट्ट, पुष्पराज भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ । ठेक्कामा आफैँले गरेको सम्झौता र बोलपत्रको सर्तविपरीत नगरपालिकासँगको मिलेमतोमा भ्याट छुट दिने निर्णय गराई राजस्व चुहावटमा मतियार भएर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ । 

ईश्वरी भट्टको निधन भइसकेकाले बिगो असुल प्रयोजनका लागि उनकी पत्नी खगेश्वरीलाई अख्तियारले प्रतिवादी बनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

CorruptionInvestigation of abuse of authoritymahakali riverriver products

You May Also Like

More stories from Basobaas