Policy

पोखरामा ५ तला माथिका घरमा लिफ्ट अनिवार्य

By BabinaFebruary 27, 20242 min read
पोखरामा ५ तला माथिका घरमा लिफ्ट अनिवार्य

काठमाडौं । पोखरामा ५ तला माथिका घरमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ ।  सोमबार पोखरा महानगरपालिकाले भवन तथा पूर्वाधार मापदण्ड राजपत्रमा प्रकाशित गर्दै  लिफ्ट अनिवार्य गरेको जनाएको हो । 

अब १७ मिटर भन्दा बढी उचाइ वा पाँच तला भन्दा माथिका भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ । लिफ्ट सम्बन्धी अन्य व्यवस्था राष्ट्रिय भवन संहिता अनुसार हुने  मापदण्डमा उल्लेख छ । 

यस्ता संरचना निर्माण गर्नुपूर्व माटो परीक्षण सहित संरचनात्मक योजनाको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि लेकसाइड क्षेत्रमा साढे २ तला र त्यस बाहिरका क्षेत्रमा साढे ३ तलाको घर बनाउन पाउने व्यवस्था थियो । अब सबैतिर ५ तलासम्मको घर बनाउन पाइने छ ।

जमिनको अनुपात हेरेर त्यसमाथिको संरचना पनि बनाउन पाइन्छ । यस्ता संरचनाहरूको योजना, ढाँचा र नक्सा महानगरमा कार्यरत प्राविधिक तथा कर्मचारीले बनाउन नपाउने गरी कडाइ गरिएको छ । 

हाल अधिकांश प्राविधिकहरूले अप्रत्यक्ष रूपमा आफ्नै कन्सल्टेन्सी चलाएर नक्सा निर्माण गर्दै आएको पाइएको छ । अग्ला भवन बनाउँदा इन्जिनियरिङ परिषदमा दर्ता भएका आर्किटेक्ट वा सिभिल इन्जिनियरबाट डिजाइन र सुपरीवेक्षण गराउनुपर्ने र ५ वर्ष सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेको इन्जिनियरबाट स्ट्रक्चर तथा विशेष सुविधाहरूको डिजाइन गराउनु पर्ने व्यवस्था मापदण्डमा छ ।

महानगरले २०३१ को भौतिक विकास योजना, २०५५ सालको एकीकृत कार्यमूलक योजना, सन् २००० को ल्याण्ड युज कन्सेप्ट प्लान, २०६९ को पोखरा उपत्यकाको निर्माण मापदण्ड लगायतका आधारमा हालको मापदण्ड तयार गरेको जनाइएको छ । सन् १९९८ मा भएको महानगरपालिको  भौगर्भिक अध्ययनलाई समेत मापदण्डमा समेटिएको छ । 

मापदण्डले ३ हजार वर्गफिटभन्दा धेरै प्लिन्थको क्षेत्रफल भएका भवनको भौगर्भिक परीक्षणको रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, भवनको वरपर ४ फिटभन्दा अग्लो पर्खाल लगाउँदा पनि संरचनात्मक योजना अनिवार्य पेस गर्नुपर्नेछ । मापदण्डले जग्गाको क्षेत्रफल अनुसार भवनको उचाइ कायम गर्न पाउने अवसर दिएको छ ।

महानगरले केही ठाउँ तोकेर त्यहाँ बन्ने घरहरूमा अनिवार्य अन्डरग्राउण्ड बनाउनुपर्ने व्यवस्था गरेको छ । कोत्रेदेखि पृथ्वीचोक हुँदै हल्लनचोकसम्म सडकसँग जोडिएर बन्ने घरमा अन्डरग्राउण्ड पार्किङ अनिवार्य गरिएको हो । पृथ्वीचोकदेखि मुस्ताङचोक-विरौटा हुँदै छोरेपाटन जाने सडक, पृथ्वीचोकदेखि नयाँबजार महेन्द्रपुल हुँदै लामाचौर, बाटुलेचौर सडक, न्यूरोड क्षेत्र, चिप्लेढुंगादेखि महेन्द्रपुलसम्मको क्षेत्रमा पनि अन्डरग्राउण्ड पार्किङ अनिवार्य छ ।

महानगरले नयाँ मापदण्ड कायम गरेपछि पुराना संरचनाबारे पनि बहस हुन थालेको छ । यसअघि नै बनिसकेका भवनहरू भने अभिलेखीकरण गर्ने महानगरको योजना छ । 

नगरसभाबाट भवन अभिलेखीकरण मापदण्ड पनि पारित भएको छ । नयाँ मापदण्डमा घरसँगै ताल र खोलाहरूको पनि मापदण्ड तोकिएको छ । फेवातालको मापदण्ड ६५ मिटर छ भने बेगनासरुपा तालको १ सय मिटर कायम गरिएको छ । सडकहरूको पनि छुट्टै मापदण्ड छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

elevator is mandatory in housespokharapokhara metropolitan city

You May Also Like

More stories from Basobaas