News

साहुले हडपेको १ सय १८ बिघा जमिन पीडितलाई फिर्ता 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले ऋण दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटर ब्याजमा पैसा लगाएको पाइएको छ ।

गृह मन्त्रालयका अनुसार पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्यौटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटर ब्याजमा पैसा लगाएको पाइएको छ ।

मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टि भएको छ । मिटरब्याज सम्बन्धी कानून बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ ।

प्राप्त विवरणअनुसार तीन हजार एक सय ६१ जनाबाट साहुले हडपेको १ सय १८ बिघा १९ कठ्ठा छ धुर जमिन पीडितलाई फिर्ता भएको छ । हालसम्म यसरी पीडित भएको भनेर २३ हजार नौ सय ६१ जनाले उजुरी दिएका छन् । पीडितले साहुसँग रु एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ ।

तर, साहुले भने रकम बढाएर रु दुई अर्ब ६१ करोड ६२ लाख २१ हजार दुई सय ४३ लिनुपर्ने बनाएको मिलापत्रका क्रममा देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशको रु ६९ करोड ५१ लाख छ भने सबैभन्दा कम कर्णालीमा रु तीन करोड छ लाख रहेको छ ।

हाल सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले उजुरी लिने, मिलापत्र गराउने लगायतका काम गरिरहेको छ ।

गम्भीर प्रकृतिका घटना, रकम उठाउन धम्की दिने, मानसिक तथा शारीरिक यातना दिने तथा जग्गा गम्भीर तरिकाले हडप्ने जस्ता व्यक्तिको हकमा भने कारबाहीका लागि सिफारिस गर्ने अधिकार आयोगलाई छ । तर, पहिलो चरणमा मिलापत्रलाई नै प्राथमिकता दिएर काम भइरहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It