News

पूर्व मेयरसहित सडक निर्माणको बजेट हिनामिना गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By BabinaFebruary 8, 20231 min read
पूर्व मेयरसहित सडक निर्माणको बजेट हिनामिना गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कृषि सडकका नाममा अनियमितता गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा कृषि सडक निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको भन्दै १२ जना विरुद्ध उजुरी परेको थियो । आरोपितहरूमा पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया रहेका छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदे यादवविरुद्ध मुद्दा दायर भएको छ ।

अनुसन्धानको क्रममा शहिदनगर नगरपालिका–८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणमा अनियमितता भएको पाइएको थियो । फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको देखिएको हो ।

लागत इस्टिमेट र कार्यसम्झौताअनुसार काम गर्ने भनिए पनि लागत बढाई भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८१६.२३ रुपैयाँ बराबरको सरकारी रकम हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

अख्तियारले सजायका लागि आयोगको ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

CorruptionEmbezzlementFormer MayorRoad Construction Budget

You May Also Like

More stories from Basobaas