News

निर्माण व्यवसायीले अटेर गरी जथाभावि फोहोर थुपारेपछि टिकापुर नगरपालिका तनावमा  

Pinterest LinkedIn Tumblr

काठमाडौं । केही समययता टीकापुरको नगर क्षेत्रमा निर्माण सामग्रीबाट निस्किएका फोहोरको डंगुर थियो । सार्वजनिक स्थानमा राखिएका यस्ता सामग्री नगरको सौन्दर्य त बिगारेको थियो नै साथमा सर्वसाधारणलाई आवतजावतमा सास्ती समेत दिएको थियो । फोहोर हटाउन नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि  नगरवासीले कुनै चासो देखाएनन् । अन्ततः टीकापुर नगरपालिका स्वयंले नै खेर गएका निर्माण सामग्री उठाउन सुरु गर्यो । 

नगरपालिकाको चोक, चौराहा, ओपन स्पेस तथा बाटोको छेउछाउमा अनधिकृत रुपमा ढुंगा, गिट्टी, बालुवा, ग्राभेल जस्ता निर्माण सामाग्री थुपारिएको थियो । जसलाई नगरपालिकाले बुधबारदेखि हटाउन शुरु गरेको छ । 

निर्माण व्यवसायीलाई लक्षित गरी नगरपालिकाले पटकपटक सूचना निकालेर ध्यानाकर्षण गराएको थियो । यद्यपि सम्बन्धित पक्षले कुनै चासो नदेखाएपछि निर्माण सामग्री हटाउन नगरपालिका बाध्य भएको हो ।

अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरूले नगरपालिकाको स्वरुप नै बिगारेको छ । निर्माण व्यवसायीले ती सामग्री नहटाएसम्म नगरपालिकाको यो अभियान जारी रहने जनाइएको छ । नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागि भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन पनि आह्वान गरेको छ ।

टिकापुर नगरपालिकाको तथ्यांकमा उल्लेख भएअनुसार वडा नं १ भित्र मात्र ३२ स्थानमा अनधिकृत रुपमा ढुंगा, गिट्टी, बालुवा, ग्राभेल थुपारिएको छ । जसमध्ये केही निर्माण व्यवसायीले भने नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफै हटाउन शुरु गरेका छन् । साथै एक निर्माण व्यवसायीले अबको दुई दिनभित्र आफूले थुपारेको सबै सामाग्री हटाइसक्ने प्रतिवद्धता समेत जनाएका छन् । तर निर्माण सामाग्री हटाउनुको सट्टा केही व्यवसायीहरू उल्टै वादविवादमा उत्रिएका छन् ।

निर्माण व्यवसायी वादविवादमा उत्रिँदा नगरपालिकाको सामाग्री उठाउन गएको नगर प्रमुख र उप-प्रमुख सहितको टोली र निर्माण व्यवसायीबीच केही समय भनाभन समेत भएको थियो । सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका निर्माण व्यवसायी टीका रावललाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय न्यूज पोर्टल अत्तरिया न्यूजमा उल्लेख छ ।

रावललाई अबको केही दिन भित्र सार्वजनिक स्थानमा रहेका आफ्ना सबै निर्माण सामाग्री हटाउने प्रतिवद्धतापछि सम्झाई बुझाई छोडिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । नगरपालिकाले उठाएका निर्माण सामाग्रीहरू नगरपालिकाले सार्वजनिक काम नै लगाउने बताएको छ ।

यो पनि पढ्नुहोसः

नेपाल कन्स्ट्रक्सन क्षेत्रमा आत्मनिर्भर बन्दै, हजारौं श्रमिकलाई रोजगारीको अवसर

प्रतिक्रिया दिनुहोस्
Pin It