News

राज्यमन्त्रीको कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरू कालोसूचीमा 

By BabinaNovember 8, 20241 min read
राज्यमन्त्रीको कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरू कालोसूचीमा 

काठमाडौं प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

यी कम्पनीहरू मध्ये कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राख्न यी कम्पनीहरूलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सिफारिस गरेका थिए । 

यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि पोखरा पनि कालोसूचीमा परेको छ ।

इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।

उनीहरूले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । 

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Balcklistedconstruction company

You May Also Like

More stories from Basobaas