काठमाडौं । हिजोआज धेरै घरहरूमा एउटा अनौठो सजावटको सामग्री देखिन थालेको छ । गाढा नीलो रंग भित्र सेतो, आकाशे र कालो रंगमा हुने यो सामग्रीलाई वाल ह्यांगीङमात्रै नभइ गरगहनामा समेत प्रयोग भएको पाइन्छ । वास्तवमा यसले के रहस्य बोकेको छ, अनि कत्तिको प्रभावकारी छ त ! आजको लेखमा यसबारे चर्चा गरौँः
के हो नीलो आँखाको जन्तर ? (What is blue-eyed Amulet?)

यो एउटा यस्तो प्रतीक हो, जसले नकारात्मक ऊर्जाबाट जोगाउने विश्वास गरिन्छ । यसको उत्पत्ति प्राचीन मेसोपोटामियाबाट भएको मानिन्छ । जुन पछि ग्रीस, टर्की लगायतका क्षेत्रहरूमा फैलियो । त्यहाँका मानिसहरूले नकारात्मक नजरबाट जोगिन ‘नीलो आँखाको जन्तर’ बनाउने र धारण गर्ने चलन सुरु गरेका थिए ।
समयक्रममा व्यापार, युद्ध, तथा धार्मिक परम्पराले यस विश्वासलाई मध्यपूर्व, इस्लामिक क्षेत्र, तथा दक्षिण एसियाली संस्कृतिमा फैलायो । आज पनि इजिप्ट, टर्की लगायतका देशहरूमा नवजात शिशुलाई दुष्ट नजरबाट जोगाउन यो जन्तर दिने परम्परा कायमै छ ।
प्रयोग र महत्व (Significance of the blue-eyed amulet)
यो जन्तरले ईर्ष्या, डर, आक्रोश, वा अन्य नकारात्मक ऊर्जाबाट जोगाउने विश्वास गरिन्छ । यसलाई गहना, घरको सजावट, तथा सवारीसाधनमा व्यापक रूपमा प्रयोग गरिन्छ । यसलाई गहनाको रूपमा लगाउँदा नकारात्मक ऊर्जाबाट जोगाउने र मानसिक स्वास्थ्य सन्तुलित राख्ने विश्वास छ । तर, यसलाई गोलीगाँठो (Ankle) मा लगाउनु उचित मानिँदैन । त्यस्तै, गाडीमा यो जन्तर झुण्ड्याउँदा दुर्घटनाबाट जोगाउने र यात्रा सदैव सुरक्षित हुने विश्वास गरिन्छ ।
वास्तुशास्त्रले के भन्छ ? (What does Vastu Shastra say?)
वास्तुशास्त्र अनुसार Evil Eye को प्रयोगले नकारात्मक ऊर्जालाई परावर्तन गर्ने, आर्थिक समृद्धि ल्याउने र सुरक्षाको अनुभूति गराउने मान्यता छ । नराम्रो नजरबाट बचाउन व्यवसाय, घर, वा व्यक्तिगत जीवनमा शुभ संकेत ल्याउने विश्वास गरिन्छ ।
यसलाई कुन दिशामा राख्ने भन्ने निश्चित नियम त छैन । तर घरको मुख्य ढोकामा झुण्ड्याउँदा नकारात्मक ऊर्जा भित्र प्रवेश गर्न पाउँदैन भनिन्छ । बैठक कोठामा झुन्ड्याउँदा पारिवारिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ ।
सुत्ने कोठामा राख्दा आनन्दको निद्रा पर्ने र सकारात्मक ऊर्जाको वृद्धि हुने विश्वास छ । बगैंचाको कुनैपनि रुखमा उत्तर तर्फ पर्ने गरि झुण्ड्याएमा यसले घरमा प्रवेश गर्ने नकारात्मक उर्जाहरूलाई प्रतिबिम्बित गर्ने विश्वास छ ।
कार्यालयमा यो जन्तर राख्नाले कर्मचारीहरूबीच सकारात्मक ऊर्जा प्रवाह हुने र व्यापारमा राम्रो प्रभाव पार्ने विश्वास छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।