काठमाडौं । अस्ट्रेलियामा आवासीय घर किन्न सहज हुने नीति जारी भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको पहलमा २% निक्षेपमा घर किन्न सकिने योजना सार्वजनिक भएसँगै अस्ट्रेलियावासीलाई घर किन्न थप सहज हुने भएको हो ।
यस योजना अनुरूप अब २% निक्षेपमा घर किन्ने लागि आवेदन दिन सक्ने भएका छन् । नयाँ घर निर्माणका लागि सरकार ४०% र पुराना घर खरिदका लागि ३०% सम्म ऋण प्रदान गर्नेछ ।
घर किन्न आवेदन दिन चाहने व्यक्तिको आय एकलका लागि ९० हजार डलरभन्दा कम र दम्पतीका हकमा १ लाख २० हजार डलरभन्दा कम हुनुपर्छ । ऋण स्वीकृत भएपछि, यदि आवेदकको आयमा वृद्धि भएमा, उनीहरूले सरकारबाट पाएको केही रकम फिर्ता गर्नुपर्ने प्रावधानसमेत गरिएको छ ।
यस योजनामा प्रोपर्टीको मूल्य ६ लाख डलरदेखि ९ लाख ५० हजार डलरसम्म तोकिएको छ । विशेषगरी पहिलो पटक घर किन्नेहरूका लागि यो योजनाले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियाको विदेशी लगानी नियामक निकाय ट्रेजरी डिपार्टमेन्टले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा नेपालीहरूले अस्ट्रेलियाको घर-जग्गा व्यवसायमा २० करोड डलर लगानी गरेका छन् । यो लगानीका आधारमा नेपाली समुदाय अस्ट्रेलियामा सातौँ ठूलो घर-जग्गा लगानीकर्ता बनेको छ ।
यस प्रकारका योजनाले नेपाली समुदायलाई अस्ट्रेलियामा घर-जग्गा खरिद गर्न थप सहजता प्रदान गर्नेछ ।
घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।