Lifestyle

वास्तुमा उल्लेख भएअनुसार घरको यी दिशामा भुलेर पनि नराख्नुस् मृतक व्यक्तिको फोटो

By BabinaJune 15, 20223 min read
वास्तुमा उल्लेख भएअनुसार घरको यी दिशामा भुलेर पनि नराख्नुस् मृतक व्यक्तिको फोटो

सुन्नुहोस्:

काठमाडौं । हिन्दु धर्ममा पितृ अर्थात् दिवङ्गत व्यक्तिको आत्मालाई भगवान समान मान्ने चलन छ । धार्मिक परम्परा अनुसार पितृहरूको सम्झना गरि श्राद्ध गर्ने चलन पनि छ । कोही पनि मानिस हामीमाझ सँधै रहँदैन भन्ने यथार्थलाई कसैले नकार्न सकिँदैन । सम्झना स्वरुप राखिएका तस्वीर मात्र हाम्रो साथमा रहन्छन् । कतिपय अवस्थामा मृत्यु अघिको फोटो नभए पछि बनाएर पनि राख्ने गरिन्छ । फोटोमा माला लगाइदिने, कलशमा पानी र दियोमा बत्ती बाल्ने समेत गरिन्छ । यसरी मृत व्यक्ति अर्थात पितृको तस्विर राख्नुको कारण र यसको महत्वको विषयमा आज हामी कुरा गर्दैछौँ ।

वास्तु शास्त्रमा हाम्रा मृतक पूर्वज तथा पितृहरूका तस्बिर झुन्ड्याउनका लागि दिशा निश्चित गरिएको छ । यदि गलत दिशामा मृतकको फोटो राखेको खण्डमा परिवार भित्रका अन्य सदस्यमा नकारात्मक असर पर्ने वास्तुशास्त्रीहरू बताउँछन् ।

मृतकको तस्बिर कसरी राख्ने त ! 

मृतकको फोटो राख्नका लागि विशेषतः दक्षिण दिशा उपयुक्त मानिन्छ । दक्षिण दिशालाई यमराजको दिशा भनेर चिनिने हुँदा पितृहरू पनि दक्षिण दिशातिर बस्छन् भन्ने विश्वास छ । यस दिशामा तस्विर राख्न सम्भव नभएमा नैर्ऋत्य कोण अर्थात् दक्षिणपश्चिम दिशालाई अर्को विकल्पका रुपमा लिन सकिन्छ । मानिसको मृत्यु भएको ४१ ‌औ दिनमा मृत व्यक्तिको फोटोमा चन्दन लगाएर दक्षिण दिशामा राख्दा पिण्ड पनि दिन पर्दैन भन्ने पनि मान्यता छ ।

मृतकको तस्विर राख्दा यी गल्ति नगर्नुहोस्ः

जतिसुकै आस्था र सम्मान गरेको व्यक्ति भए पनि मृतकको फोटो पूजाकोठामा भगवानको मूर्ति तथा फोटोसँग राखेर पुजा गर्नु हुँदैन । यसो गर्नाले देवता र पितृहरू दुवै पक्ष रुष्ट हुने मान्यता छ । पितृ देवताको दोषबाट ग्रसित हुने र दुर्भाग्य निम्तने हुँदा यसो गर्नु उपयुक्त हुँदैन ।

मृतकको फोटोलाई घरको मूल बिच भाग अर्थात् ब्रह्मथानमा पर्ने गरि राख्नु हुँदैन । घरबाट निस्कँदा र घरभित्र पस्दा प्रत्यक्ष देखिने ठाउँमा पनि फोटो राख्नु हुँदैन । यसरी गलत दिशामा मृतक पूर्वजको फोटो राख्दा आयु घट्ने, फजुल खर्च बढ्ने धनको कमी हुने, मानसिक तनाव उत्पन्न हुने आदि समस्या निम्तन्छ ।

पूर्व दिशामा पर्ने गरि मृत व्यक्तिको फोटो राख्नु हुँदैन । पूर्व सूर्यको स्थान हो । यो दिशामा मृतकको तस्बिर राख्दा मान सम्मान इज्जत प्रतिष्ठा घट्दै जान्छ ।

उत्तर दिशा कुवेरको दिशा हो । मृतक पूर्वजको फोटोलाई उत्तर दिशामा राख्दा धनको कमी हुने, फजुल खर्च बढ्ने जस्ता समस्या देखिन थाल्छ । आग्नेय पूर्वदक्षिण कोणमा फोटोलाई राख्दा रोग व्याध निम्तन्छ ।

मृतकको फोटो भान्छामा राख्न हुन्छ त ?

मृत व्यक्तिको फोटो सुत्ने कोठा, भान्छाकोठामा पनि राख्नु हुँदैन । यदि तपाईं भाडामा बस्नुहुन्छ र एउटा कोठा मात्र छ भने त्यस्तो अवस्थामा फोटोलाई सेतो कपडाले छोपिदिनु पर्छ । सुतेको बेला मृतकको फोटो खुट्टा पट्टि पर्ने गरि पनि राख्नु हुँदैन । प्राय घरहरूमा भर्याङ मुनि मृतकको फोटो राख्ने गरेको देखिन्छ । यसरी फोटो राख्दा घरमा कहिल्यै शान्ति नहुने विश्वास छ ।

मृतक व्यक्तिको फोटो कस्तो फ्रेममा राख्ने

मृतकको फोटो राख्दा सकेसम्म सेतो अथवा सिल्भर तथा हल्का पहेलाे कलरको फ्रेम बनाउँनु पर्दछ । गाढा कलरको फ्रेम रातो, कालो, निलो हरियो जस्ता फ्रेममा मृतक पूर्वजको फोटो राख्नु राम्रो मानिदैन । 

मृतक व्यक्ति सबै एकै किसिमले मरेका हुन्छन् भन्ने हुँदैन । कतिपय व्यक्ति अल्पायुमै आत्महत्या गरि या कुनै दुर्घटनामा परि मृत्यु भएका हुन्छन् । त्यस्तो अवस्थामा जसको विवाह भएर मृत्यु भएको छ उनीहरूको तस्बिर दक्षिण दिशामा लगाउनु पर्दछ भने जो अधोगति अर्थात् गति बिग्रिएर मृत्यु भएका हुन्छन् उनीहरूको तस्बिर उत्तर दिशामा लगाउनु पर्दछ । गति बिग्रिएर मृत्यु भएकाहरूलाई शंकर भगवानको शिरबाट बग्ने जल जुन ३३ कोटी देवताहरू ग्रहण गर्न बसेका हुन्छन् । सोही जल अधोगति भएर मृत्यु भएकाहरूलाई पनि प्राप्त हुन्छ भनिएको छ । त्यसैले अधोगति प्राप्त कुमार कुमारीहरूको मुक्ति उत्तर दिशामा हुन्छ भनिन्छ । 

घर सजाउन होस् वा विगतका सम्झना ताजा गर्न घरमा फोटो झुन्ड्याउने चलन छ । हामी फोटो त झुन्ड्याउँछौँ तर जीवनका अविस्मरणीय र सुन्दर पलहरू समेटिएका ती तस्बिर कहाँ र कसरी राख्ने भन्ने कुरा नजान्दा हामीलाई तिनै तस्बिरको नकारात्मक प्रभाव पर्नसक्छ । वास्तु शास्त्रमा तस्बिर झुन्ड्याउनका लागि निर्धारण गरिएका नियम र दिशाको प्रभावले सकारात्मक नतिजा दिनसक्छ । 

ancestors or dead person photo directiondead person photo in homedead person photo placementhome decorvastu tips for home

You May Also Like

More stories from Basobaas