काठमाडौं । जाजरकोट जिल्लाको इतिहास बोकेका दुईवटा दरबारलाई सङ्ग्राहालयमा परिणत गरिने भएको छ । जाजरकोटको सदरमुकाम खलङ्गामा रहेका दुईवटा दरबारलाई सङ्ग्राहालय परिणत गर्ने अभियान सुरु भएको हो ।
सङ्ग्राहालय बनाउने अभियानमा भेरी नगरपालिका ३ पिपलडाँडा अवस्थित १५३ वर्ष पुरानो सेतो दरबार र २५४ वर्ष पुरानो रातो दरबारलाई संरक्षण गरि पर्यटकीय गतिविधि बढाउने उद्देश्यले प्रतिष्ठान समेत गठन गरिएको छ ।
यी दुई दरबारमध्ये रातो दरबारमा हाल जिल्ला समन्वय समिति र सेतो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।
सङ्ग्राहालयलाई सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा मध्य तथा सुदूरपश्चिमको पहिलो दरबार सङ्ग्राहालय बनाउन उद्देश्यले अभियान सुरु गरिएको छ ।
जिल्लाको इतिहास, कला, संस्कृति भाषा र अन्य पहिचानसँग सम्बन्धित सबै प्रकारका सामाग्री र दस्ताबेजको उचित सङ्कलन, व्यवस्थापन तथा प्रदर्शन सङ्ग्राहालयमा गरिनेछ । सङ्ग्राहालय स्थापना पछि स्थानीय जनताको आय आर्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सेतो दरबारः
२० औं जाजरकोटी राजा नरेन्द्र विक्रम शाहले वर्तमान स्वरूप प्रदान गरेको सेतो दरबारका चार नाल एक नाल वि.स.२०२९ सालमा जिल्ला पञ्चायतले भत्काएपछि हाल तीन नालमा सीमित भएको छ ।
उचित संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा परेको दरबार कलात्मक शैलीमा निर्माण गरिएको छ । जिल्लाको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक सम्पदाको रुपमा रहेको जाजरकोट दरबारलाई नेपाल सरकारले मुलुकका सय वटा प्रमुख पर्यटकीय गन्तव्यहरूमा सूचिकृत गरेको छ ।
रातो दरबारः
जिल्ला समन्वय समिति कार्यालय रहेको रातो दरबार वि.स. १८२५ सालमा जाजरकोटका १६ औं राजा हरि शाहले बनाएका हुन् ।
यो दरबार जाजरकोटी राजा हरि शाह र उनका छोरा गजेन्द्र शाहले १८२५ माघ ७ गते र त्यसपछिका मितिमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग गरेको सन्धिको साक्षी हो । रातो दरबार जाजरकोट खलङ्गाको पहिलो दरबार पनि हो ।
ऐतिहासिक, पुरातात्त्विक महत्व र निर्माण कलाका हिसाबले महत्वपूर्ण रातो दरबार आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक सम्पदा हो ।
राजा रणबहादुर शाहको छोरी दुर्गाकुमारी शाह र पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाकी दुई छोरी दीर्घकुमारी र जगतकुमारीको विवाह जाजरकोटे राजाहरूसँग भएकोले नेपाल एकीकरण पछि पनि जाजरकोट राज्यको प्रभाव कायमै थियो ।
जीर्ण अवस्थामा पुगिसकेका यी दरबार जिल्लाको आर्थिक पर्यटन विकासको मुख्य सम्भावना हो । यसको मौलिक स्वरूप जोगाउँदै समग्र कर्णालीको लागि मुख्य पर्यटकीय गन्तव्य बनाउन सबैले चिन्ता गर्नु पर्ने वेला आएको छ र दरबारलाई सङ्ग्राहालय स्थापनाको अभियान सुरु भएपछि जिल्लावासी खुसी भएका छन् ।
यस्ता ऐतिहासिक सन्दर्भ जोडिएका दरबारहरूमा सङ्ग्राहालय बनेर संरक्षण हुँदा देशको इतिहास जान्न चाहानेका लागि महत्वपूर्ण सन्दर्भसामाग्री प्रदान गर्न सकिने देखिन्छ ।