Lifestyle

दशैँको पहिलो दिन घटस्थापनाः पूजा विधि र महत्व

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिन्दु नेपालीको महान चाड बडादशैँ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुन्छ । दशैँको पहिलो दिन अर्थात् घटस्थापनामा विधिवत् रुपमा पूजा सामग्री स्वरुप फूलपाती भित्र्याउने चलन छ । 

घटः स्थापना अर्थात, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको अर्थ हुन्छ । घटस्थापनाको दिन वैदिक विधिपूर्वक स्थापना गरिएको घट कलशमा नवरात्रिको समय ब्रह्माण्डमा उपलब्ध शक्ति तथा ऊर्जालाई आह्वान गरि पूजा गर्ने गरिएको छ ।

सत्य युगमा देवगणद्वारा रचित देवी दुर्गाले महिषासुर नाम गरेको राक्षसको बध गर्न सफल भएको उत्सवका रुपमा दशैँ मनाउने चलन सुरु भएको जनविश्वास छ । दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्न घटस्थापना देखि ९ दिनसम्म घरघरमा दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको हो । 

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने यस पर्वमा दुर्गाको प्रतीकका रुपमा नवरात्रभर प्रत्येक दिन नौ छुट्टै कन्याको पूजा समेत गर्ने गरिन्छ ।

घटस्थापना र पूजा विधिः  

घटस्थापनाको दिन एकाबिहानै नुहाइ धुवाइ गरि चोखो बालुवा अथवा माटो ल्याइन्छ, र जौ छरिन्छ ।  टपरीमा चामल राखेर दियो कलश गणेश स्थापना गरि पूजा चौकीमा रातो कपडा ओच्छ्याएर शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) लगायत  देवीहरूको फोटो वा मूर्ति स्थापना गरिन्छ । देवीहरूको फोटो वा मूर्तिलाई पञ्चोपचारले पूजाआजा गरी एकपटक सम्पूर्ण देवी देवतालाई विशेष मन्त्रद्वारा आह्वान गर्ने गरिन्छ ।

घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ । 

घटस्थापनाको दिन घटको स्थापना गरि पूजा गर्दा घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ । त्यस्तै घर छाडेर नजानेहरूले एउटा टपरीमा चामल राखी दियोमा नौ सुते बाती राखेर अखण्ड दियो पनि बाल्न सकिन्छ ।  

विजयादशमीका दिन लगाइने जमरा आजकै दिन दशैँ घरमा विधिपूर्वक राखिन्छ । जमरा माता भगवतीलाई मनपर्ने वनस्पति भएको हुँदा उनलाई खुशी पार्न घट कलश स्थापना गरि जमरा उमार्ने गरिएको धार्मिक विश्वास छ । 

जमरा राखिएको स्थान नजिकै पूर्णजल युक्त घडा (कलश) राखिन्छ । घडालाई सजाइ स्वस्तिक बनाएर कलश माथि नरिवल आँप, चाँप, बरपिपलको पात, दुबो राखिन्छ । कलशमा पञ्चपल्लव चढाइन्छ । त्यसैको वरिपरि देवीको स्वरूपको प्रतिमूर्ति स्थापना गरी नौ दिनसम्म दीप प्रज्वलित गरिन्छ । 

वैदिक सनातन धर्मको आरम्भ एक अर्ब ९५ वर्ष पहिलेदेखि दशैँमा जमरा राख्ने परम्परा शुरु भएको भन्ने गरिन्छ । घटस्थापनाको दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । शैलपुत्री पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It