Lifestyle

मयूरको प्वाँख:  घर तथा अफिसको मूलढोकामै किन राख्ने !

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौँ । सौन्दर्य र धार्मिक महत्वका दृष्टिकोणले मयूरलाई विशेष पंक्षीको रुपमा लिइन्छ । धेरैजसो घरहरूमा मयूरको प्वाँखलाई सजावटका रुपमा राख्ने गरेको पनि पाइन्छ । आखिर किन राखिन्छ त, मयूरको प्वाँख घरमा, मानव जीवनमा यसको महत्व के छ लगायतका विशेष जानकारी आजको लेखमा समेटेका छौं ।

हिन्दु धर्ममा मयूरलाई अत्यन्त शुभ पंक्षी मान्ने चलन छ । सुन्दरताको कुरा गर्नुपर्दा मयुर अन्य चराहरूको तुलनामा अधिक सुन्दर हुन्छ । भनिन्छ मयूरको शरीरमा लगभग प्रकृतिका सबै रङ्ग हुन्छन् ।

मयूरको रङ्गीचङ्गी प्वाँखलाई धार्मिक उपचार विधिमा पनि प्रयोग गरिन्छ । सो प्वाँख घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ । भाले मयूरको निलो, हरियो तथा सुनौलो रङ्गिबिरङ्गी प्वाँख हुन्छ । जसलाई मयूरले  बसन्त तथा वर्षाको मौसममा पोथी मयूरलाई फकाउनको लागि खोलेर नाच्दछ ।

मयूरमा एक प्रकारको रहस्यमय आकृति बनेको हुन्छ । साथै रङ्ग पनि भिन्न प्रकृतिको हुन्छ । मयूरको प्वाँखमा फरक प्रकारको रङ्गहरूको संयोजन रहेको हुन्छ । यसमा एकाग्रताको संयोजन समेत रहेको हुन्छ । मयूरको प्वाँखलाई हिप्नोटाइज र मेडिटेसन गर्नमा समेत प्रयोग गरिन्छ ।

मयूरको प्वाँखमा केही समय हेरिरहँदा हाम्रो स्मरण शक्ति बढाउँदछ । भगवान श्रीकृष्णको मुकुटमा सुशोभित मयूरको प्वाँखले जीवनका सबै नकारात्मक ऊर्जा र अन्य पारिवारिक समस्याबाट राहत दिने गर्दछ । 

धार्मिक महत्वः

तपाईं हामीले भगवान श्रीकृष्णको शिरमा सधैँ मयूरको प्वाँख धारण गरेको देखेका नै छौं । जसले मयूरलाई हिन्दु धार्मिकतासँग जोडेको छ । यसका साथै मयुर भगवान विष्णु, गणेश र सरस्वतीको समेत प्रिय मानिन्छ । भगवान कार्तिकेयको वहान पनि मयुर नै हो । 

shree krishna

विश्वका धेरै देशहरूको संस्कृति र परम्पराहरूमा मयूरको प्वाँखले फरक फरक र महत्वपूर्ण भूमिका खेल्दछ । यसलाई पूर्वीय दर्शनमा धैर्यता, उदारता र दयाभावको प्रतीकको रुपमा लिने गरिन्छ । मयुर चरा आफैँमा यति सुन्दर हुन्छ कि यसले सकारात्मकता दर्शाउँछ । 

मयूरको प्वाँखलाई घरमा राख्नुको रहस्य

मयूरको प्वाँख घरमा राख्दा नकारात्मक ऊर्जाहरू सबै हटेर जाने विश्वास गरिन्छ । मयूरको प्वाँखले सौभाग्य ल्याउने धार्मिक विश्वास छ । प्रायजसो घरको मूल ढोका, पुजा कोठा, सुत्ने कोठा, बच्चाको कोठा आदि ठाउँमा मयूरको प्वाँख राख्ने गरिन्छ । घरमा मयूर प्वाँख राख्नाले सुख समृद्धि कायम रहने विश्वास छ । 

घरमा वास्तु दोष मिलेको छैन र दोष छ भने पनि सो स्थानमा मयूरको प्वाँख लगाउन वास्तुविद्हरूको सुझाव दिने गरेका छन् । मयूरको प्वाँख जन्माष्टमी, नवरात्रि, शिवरात्रि वा कुनै एकादशी पारेर घरमा ल्याउनु शुभ मानिन्छ । 

त्यसैगरी प्वाँखलाई घरको कुनै एक ठाउँमा राख्दा घरमा सुख सम्वृद्धि र खुसियाली छाउने गर्दछ । जसकारण आर्थिक समस्याको सामना गर्नु पर्दैन । मयूरको प्वाँखलाई घरमा राख्ने हो भने देवी लक्ष्मीको कृपा सधैँ हुने विश्वास गरिन्छ । त्यसैगरी, यसले धन र ऐश्वर्यमा पनि सदैव वृद्धि हुने गर्दछ । 

मयूर प्वाँख

मयूरलाई घरमा राखेर धेरै समस्याहरू समाधान गर्न सकिन्छ । घरमा वास्तु दोषहरू हटाउन सकिन्छ र परिवारमा खुशी, समृद्धि र धन आउन सक्छ । घरमा मयूरको प्वाँख राख्दा सर्प तथा अन्य विषालु जीवहरु घरमा प्रवेश नगर्ने तथा शत्रुबाट हुने हानि नोक्सानीको संकट पनि टरेर जाने गर्दछ ।

त्यसैगरी, प्वाँखमा शत्रु वा विरोधीको नाम लेखेर खोलामा बगाउँदा शत्रु तथा विरोधी परास्त हुने गर्दछन् ।

हामीमध्ये कतिपयले बाल्यकालमा मयूरको प्वाँख किताबको बिचमा राख्दा बच्चा पार्छ भनेर राख्ने गरेको त याद नै होला । तर त्यसको पछाडिको रहस्य देखि सबै अनविज्ञ छन् ।

यसरी मयूरको प्वाँख किताबको बिचमा राख्दा बच्चा पार्ने नभइ मयूरको प्वाँखमा रहेको रङ्गहरूको संयोजनले सम्मोहित गर्ने र पढाइमा एकाग्र बनाउछ । मयुरले नकारात्मक उर्जा हटाउने हुनाले यसरी राख्दा पढाइ ध्यान जाने हुन्छ ।

मयुर प्वाँख देवी सरस्वतीलाई समेत प्रिय हुनाले पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा राखेमा बालबालिकालाई पढाईमा रुची बढ्ने मान्यता छ ।

किन राखिन्छ घर तथा अफिसको मुख्य द्वारमा मयूर 

घरको सुख शान्ती समृद्बीमा कसैको आँखा नलागोस् भनेर हामी घरको मूल ढोकामा मयुर राख्ने गर्दछौं । वास्तवमा  घरको प्रवेशद्वारबाट नकारात्मक र सकारात्मक ऊर्जा घरमा प्रवेश गर्ने हुँदा मुख्य प्रवेशद्वारमा मयूरको प्वाँख राख्ने गरिन्छ ।

जसले कुनै पनि नकारात्मक ऊर्जालाई घर तथा अफिसमा प्रवेश गर्न दिदैन । घरको मुख्य द्बारमा ३ ओटा मयूरको प्वाँख लगाउनु शुभ मानिन्छ । 

मयूर प्वाँखको लागि उपयुक्त दिशा  

वास्तुका अनुसार घरको उत्तर-पूर्वी कुनामा, मन्दिरको स्थानमा मयूरको प्वाँख राख्नाले लाभ मिल्छ । साथै घरमा अचानक आउने संकटहरु पनि हटेर जाने गर्दछ । घरमा धन र सुखको कमी हुदैन । घरमा भगवानको पूजासँगै मयूरको प्वाँखको पूजा गर्नुलाई शुभ मानिन्छ ।

घरमा नराम्रो नजर लागेको तथा कुनै वास्तु दोष छ भने मुख्य ढोकामा गणेषको मूर्ति वा तस्बिरसँगै तीनवटा मयूरको प्वाँख राख्नु फाइदाजनक रहन्छ । यसले वास्तु दोष हटाउँछ । धनकी देवी लक्ष्मीको साथमा मयूर राख्दा पनि फाइदा हुने विश्वास छ ।

मयूर

वास्तुका अनुसार मयूर प्वाँखको फ्रेम  बनाएर घरमा राख्नाले आर्थिक अवस्था सुधार हुन्छ । कुनै जरुरी काम पूरा हुँदाहुँदै रोकिएको छ भने आफ्नो बेडरुमको पूर्वी -दक्षिण दिशामा मयूरको प्वाँख राख्दा रोकिएको काम सम्पन्न हुन्छ ।

घरमा सकारात्मक ऊर्जा सञ्चार गराउन, परिवारका सदस्यहरू बीचको समस्या नष्ट गर्न, सम्बन्ध प्रगाढ बनाउन घरको बैठक कक्षमा मयुर प्वाँख लगाउनु उपयुक्त हुन्छ ।

वास्तुमा मयूरलाई प्रेमको प्रतीक पनि मान्ने गरिन्छ । यसो हुँदा २ वटा मयुर प्वाँख बेडरूममा राख्दा पति पत्निका बीच आपसी तालमेल र प्रेम दिर्घायु हुने मान्यता छ ।

धार्मिक उपचारमा मयूरको प्वाँख

सानो वा भर्खरै जन्मेका बच्चाहरुलाई छिट्टै आँखा लाग्छ भनिन्छ । यसबाट बचाउन मयूरको प्वाँखको बुटी बनाएर बच्चालाई लगाइदिने गरिन्छ । साथै, यस्तो गर्दा बच्चामा नकारात्मक शक्तिको प्रभाव कहिल्यै पर्दैन । 

नवग्रह राहु, केतु, बुध, चन्द्रमा, गुरू, शुक्र, सूर्य, मङ्गल र शनिले मानिसको जीवनमा नकारात्मकता पैदा गरिरहेको हामीले सुनिरहेका हुन्छौ ।

यदि कसैको राशिमा राहु निकै हावी भएको छ भने उनीहरुले मयूरको प्वाँख राख्दा राहुको नकारात्मक प्रभाव हटेर जाने गर्दछ । यसलाई घरमा वा आफुले दैनिक बोक्ने झोला वा पर्समा राख्दा शुभ हुन्छ । 

 

प्रतिक्रिया दिनुहोस्
Pin It