News

सडक विस्तारका लागि दमौली बजारका ५ सय घरटहरा भत्काइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । पृथ्वीराजमार्गको दमौली बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)ले घरटहरा भत्काउन लागिएको हो । 

यसअघि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएको थियो । हालैमात्र दमौली बजारका घरटहराको क्षतिपूर्ति मूल्याङ्कन भएपछि मुख्य बजारका घरटहरा हटाउन लागिएको हो ।

यस खण्डमा ५ सय ५ घरटहरा भत्काउनु पर्नेमा हालसम्म ३ सय ५० घरटहरा भत्काइ सकिएको छ । घरटहरा भत्काउँदा २६ करोड मुआब्जा निर्धारण भएकोमा हालसम्म १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको छ । 

व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रबिन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

सडकखण्ड विस्तारको प्रगति अवस्थाः

दुई खण्डमा काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१ दशमलव पाँच प्रतिशत प्रगति भएको जनाएको छ । त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा आठ प्रतिशतको सुस्त  प्रगति भएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । तीन ठूला र चार साना गरी ४१ दशमलव ४५ किलोमिटर पुल निर्माण गरिने यस खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ । 

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चार लेनको सडकको सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । 

डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । 

सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It