News

उपत्यकामा थप चारवटा सहर बन्ने, कहाँ कहाँ बन्दैछन्?

By BN EditorialMay 10, 20171 min read
उपत्यकामा थप चारवटा सहर बन्ने, कहाँ कहाँ बन्दैछन्?

काठमाडौं उपत्यकाको कोर सिटीभित्रको बसोबासको चापलाई घटाउन सरकारले  चारवटा नयाँ सहर निर्माण गर्ने भएको छ। व्यवस्थित बसोबासलाई सुनिश्चित गर्नभन्दै सहरी विकास मन्त्रालयले लिएको उक्त प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

काठमाडौंमा दुई, भक्तपुर र ललितपुरका एक÷एक स्थानमा सहर निर्माण गरिने उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए। उपत्यका विकास प्राधिकरणले तयार पारेको उक्त प्रस्ताव मन्त्रीपरिषदको भौतिक विकास समितिले आइतबार नै पास गरेको थियो।

आयुक्त तिवारीका अनुसार काठमाडौंको मुलपानी क्रिटेक मैदानदेखि बोडे निक्लने बाटो, निलबाराही त्यहाँबाट भक्तपुर जाने बाटो, खरिपाटी सैनिकब्यारेकलाई बाहिर राखेर शालीनदी, साँखु हुँदै क्रिकेट मैदानसँगै जोडिने एकलाख रोपनी क्षेत्रफलमा एउटा सहर निर्माण गरिने छ।

त्यस्तै काठमाडौंकै अर्को टोखाको मूल सडक, ग्रिनल्यान्ड बाइपास, फुलबारी तारकेश्वर, महादेव खोला हुँदै टोखा रोडमै जोडिने गरी अर्को सडक निर्माण हुनेछ। भक्तपुरको बालकोट, उत्तरमा अरनिको राजमार्ग, सुर्यविनायकका क्षेत्रलाई समेटेर सहर निर्माण गरिने तिवारीले बताए।

त्यस्तै ललितपुरको पहिलेको सैबु, भैसेपाटी गाविस हुँदै बागमतिको झोलुंगे पुललाई सिमाना मानेर सहर निर्माण गरिने छ।

प्रस्तावित चारवटै सहरलाई बाहिरी चक्रपथले छुने छ। सहर बनाउनको लागि आवस्यक अध्ययन तथा परामर्श दिनको लागि परामर्शदाता छनौटको काम सुरु भइसकेको प्रमुख आयुक्त तिवारीले जानकारी दिए।

विस्तृत अध्ययत प्रतिवेदन(डिपिआर) आइसकेपछि सहरको गुरुयोजना बन्ने र यसको काम द्रुत गतिमा अगाडि बढाइने तिवारीले जानकारी दिए।सहरी सुविधा तथा पूर्वाधार सम्पन्न हुने नयाँ सहरमा आधुनिक प्रविधि र सिपको प्रयोगबाट पूर्वाधार निर्माण गर्ने प्राधिकरणको योजना छ।

नयाँ बन्ने सहरमा पूर्वाधार निर्माणको लागि १० प्रतिशत जमिन हुने छ। सामुदायिक क्रियाकलापको लागि ३ प्रतिशत र खुल्ला ठाउँको लागि ५ प्रतिशत जमिन हुने छ।

ल्यान्ड पुलिङको माध्यमबाट सहरीकरण गरिने तिवारीले जानकारी दिए। जसअनुसार सम्पूर्ण सर्वसाधारणहरुको जग्गालाई एउटा कित्ता बनाउने र त्यसको डिजाइन गरेर समाणुपातिक ढंगबाट वितरण गरिने छ।

यसरी निर्माण गरिएको सहरमा खेलमैदान, पार्क, अस्पताल, विश्वविद्यालय, सामुहिक आवास, हुनेछन्।

Source: Setopati

citykathmanduvalley

You May Also Like

More stories from Basobaas