News

डडेल्धुरा सदरमुकामका ३९० जनाले पाए घरजग्गाको मुआब्जा

Pinterest LinkedIn Tumblr

काठमाडौं । डडेल्धुराको सदरमुकामका सडकको क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा वितरण गरिएको छ । बागबजारदेखि कीर्तिपुरसम्मको सडक क्षेत्रमा पर्ने संरचना र व्यक्तिको नाममा दर्ता भएको जग्गाको मुआब्जा वितरण गरिएको हो । 

पहिलो चरणमा १०६ र दोस्रो चरणमा २८४ गरी ३९० जनालाई मुआब्जा वितरण गरिएको छ । भने कित्ताकाट बाँकी रहेका १२ जना र भुक्तानी अस्वीकृत भएका ३ जनालाई अझै मुआब्जा बाँड्न बाँकी छ । 

मुआब्जा वितरणका लागि पहिलोपटक २० करोड र त्यसपछि ३० करोड मुआब्जा वितरणका लागि बजेट विनियोजन गरिएको थियो । सो बजेट केही अपुग भएको छ । अपुग रकम डिभिजन कार्यलयले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग माग गरेको छ । 

कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरक-फरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्मको राजमार्गको चौडाइ  ३० मिटर रहेको राजपत्रमा उल्लेख छ । 

सो अनुसार डडेल्धुरा सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुर लगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो । तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग ५ मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ । जसका कारण सडक क्षेत्रमा सयौँ घर निर्माण भएका छन् ।

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले सडककै क्षेत्राधिकारभित्र पर्ने जग्गामा समेत घर निर्माणका लागि नक्सा पास गरिदिएको थियो । अहिले मुआब्जा पाएपछि भने जिल्ला सदरमुकाममा धमाधम भौतिक संरचना भत्काउन थालिएको छ । 

मुआब्जा पाएर भौतिक संरचना पनि भत्काउन थालिएपछि जिल्लावासीलाई सदरमुकामको सडक फराकिलो हुने विश्वास जागेको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It