News

तराईका जिल्लामा मौलाउँदै घरजग्गा कारोबार, यी १० ठाउँ रोजाइमा

By BN EditorialMarch 25, 20223 min read
तराईका जिल्लामा मौलाउँदै घरजग्गा कारोबार, यी १० ठाउँ रोजाइमा

पछिल्लो समय संघीय राजधानी काठमाडौं उपत्यका बाहिरका सहरहरुमा घरजग्गा कारोबार फस्टाउँदै गएको छ । पछिल्लो डेढ दशक यता मुख्यगरी काठमाडौं उपत्यकामा मात्रै फस्टाएको घरजग्गा कारोबार अहिले देशका विभिन्न सहरहरुमा पनि मौलाउँदै गएको हो ।

विशेषगरी नेपाल संघीय राज्य प्रणालीमा गएसँगै उपत्यका बाहिर घरजग्गा कारोबार फस्टाउँदै गएको देखिन्छ । त्यसमा पनि तराईका जिल्लाहरु हटस्पट बनेका छन् ।मानिसहरु रोजगारी तथा विभिन्न सेवा सुविधाको खोजीमा सहरी क्षेत्रतर्फ बसाइँसराइँ गर्ने क्रम बढेसँगै सहरी इलाकाहरुमा घरजग्गा किनबेच तीव्र भइरहेको छ ।

तराईका मुख्य क्षेत्रहरु झापा, सुनसरी, मोरङ, बाँके, चितवन, धनुषा, जनकपुर, बर्दिबास लगायतका क्षेत्रहरुमा घरजग्गाको किनबेच तीव्र गतिमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौँ उपत्यकापछि तराई जिल्लाहरुमा घरजग्गाको किनबेच बढेको देखिन्छ । विभागको तथ्यांक अनुसार चालु आवको ७ महिनामा सबैभ्न्दा धेरै घरजग्गा किनबेच हुने १० ठाउँमध्ये ७ ठाउँ तराईका जिल्लाहरु रहेका छन् ।

देश संघीय संरचनामा गएसँगै विभिन्न क्षेत्रमा प्रदेश राजधानीहरु तोकिएका छन् । विकासको चरणमा रहेका ती क्षेत्रहरुमा मानिसको बाक्लो आवासका बन्दै गएको छ । पूर्वाधार विकास, औद्योगीकरण, रोजगारीका अवसर, सडक पूर्वाधारको सुविधा लगायतको विकासले मानिसको ध्यान यस्ता क्षेत्रहरुमा तानेको हो । जसले गर्दा यी क्षेत्रहरु घरजग्गा कारोबारको हटस्पट बन्दै गएको विभागको तथ्यांकबाट प्रष्ट हुन्छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले घरजग्गामा गरिएको लगानी अनुत्पादक भन्दै यस्ता क्षेत्रहरुमा बैंकहरुलाई कर्जा लगानी गर्न लगाम समेत लगाएको छ । यसका बाबजूद पनि घरजग्गाको किनबेच र कारोबार भने झन्डै गत वर्षकै हाराहारीमा रहेको छ । यद्यपि, पछिल्लो दुई महिना यता भने केही सुस्ताएको छ ।

यी हुन् सबैभन्दा धेरै घरजग्गा किनबेच भएका १० ठाउँ

चालु आवको सात महिना (साउन माघ)मा सबैभन्दा धेरै घरजग्गा किनबेच संघीय राजधानी काठमाडौंमा भएको छ । माघ मसान्तसम्म काठमाडौंको डिल्लीबजार, साँखु, चाबहील, टोखा, कलंकी र मनमैजुगरी कुल ३२ हजार ८३६ घरजग्गा किनबेच भएको हो ।

काठमाडौंपछि तराईका जिल्लाहरुमा धेरै घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । चालु वर्षमा धेरै घरजग्गा किनबेच हुने जिल्लामा मोरंङमा दोस्रो स्थानमा रहेको छ । यस अवधिमा मोरङका मालपोत कार्यालयमार्फत ३१ हजार ९०९ घरजग्गा किनबेच भएका छन् । जिल्लाको विराटनगर रंगेली, बेलवारी मालपोत कार्यालयबाट उक्त घरजग्गा किनबेच भएका हुन् ।

त्यसैगरी तेस्रो सर्वाधिक घरजग्गा किनबेच सुनसरीमा भएको छ । सात महिनाको अवधिमा जिल्लाको धरान र इनरुवा मालपोत कार्यालबाट २४ हजार ५९२ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।

यसैगरी, झापामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल २३ हजार ९६४, चितवनको खैरहनी, माडी, चनौली गरेर १७ हजार ३२९, जनकपुरको धनुषा मालपोत कार्यालय मार्फत १५ हजार ९९२ घरजग्गा किनबेच भएको छ ।

बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १५ हजार १०३,बाराको कलेया र सीमराबाट १२ हजार ७०७, ललितपुरको गोटिखेल र लगनखेलबाट १४ हजार ३९६, र भक्तपुरमा १४ हजार ६०६ घरजग्गा किनबेच भएका छन् ।

कुन महिनामा कति घरजग्गा किनबेच ?

चालु वर्षको सात महिनामा देशभर कुल ४ लाख ५३ हजार ९०३ घरजग्गा खरिद विक्री भएको विभागको तथ्यांकले देखाउँछ । यस अवधिमा घरजग्गा रोक्का, फुकुवा र नामसारी गरी कुल कारोबार ११ लाख ५५ हजार ८३४ घरजग्गा सम्बन्धी कारोबार भएको छ ।

सोमध्ये सबैभन्दा साउनमा देशभर ७५ हजार ४१७ घरजग्गा किनबेच भएको थियो । साउनमा १ लाख ९० हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । त्यस्तै, भदौमा ७० हजार ९० किनबेच, २ लाख ३६ हजार कुल कारोबार, असोजमा ५९ हजार २२७, किनबेच भएको छ भने कुल कारोबार १ लाख ६८ हजार भएको छ ।

कात्तिकमा ५० हजार ८३ किनबेच १ लाख ३४ हजार कुल कारोबार, मंसिरमा ६९ हजार ४१२ किनबेच १ लाख ६९ हजार कारोबार, पुसमा ७० हजार १६८ किनबेच र १ लाख ५७ हजार किनबेच भएको छ ।यसैगरी, माघमा ५९ हजार ५१६ घरजग्गा किनबेच भएको छ भने १ लाख ३२ हजार कुल कारोबार भएको विभागले जनाएको छ ।

१७ अर्बले बढ्यो राजस्व संकलन

गत वर्षको सात महिनाको तुलनामा चालु वर्षको सात महिनामा घरजग्गा कारोबार वापत कुल १७ अर्ब ६ करोड रुपैयाँले राजस्व संकलन बढेको छ । घरजग्गा नामसारी, रोक्का, फुकुवा लगायत कारोबार वापत माघसम्म सरकारले कुल ४८ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सात महिनामा कुल ३० अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

माघमा ५ अर्ब ५० करोड रुपैयाँ, भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार चालु वर्षमा घरजगग्गा कारोबारबाट साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड र पुसमा ६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

basobaasbasobaas nepalnepalreal estatereal estate business

You May Also Like

More stories from Basobaas