Research

नेपालकै पहिलो गुलाबी सहरः जहाँ अन्य रंगका घरहरू किनबेच नै हुँदैनन्

By BabinaNovember 17, 20242 min read
नेपालकै पहिलो गुलाबी सहरः जहाँ अन्य रंगका घरहरू किनबेच नै हुँदैनन्

काठमाडौं पछिल्लो समय नगरक्षेत्रको पहिचानलाई लिएर नगर प्रतिनिधिहरूले कदम चालिरहेका छन् । आफ्नो क्षेत्रलाई खास बनाउने संरचना निर्माण र संरक्षणमा विशेष ध्यान दिइरहेको पाइन्छ । यस्तोमा पश्चिम नेपालको स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरूमा विशेष रंगले घर रंगाउने निर्णय गरियो । तर हालसम्म वालिङ नगरपालिकाले मात्रै उक्त निर्णयलाई पूर्णता दिएको छ ।

सिद्धार्थ राजमार्गको यात्रा गर्दा भीरकोट नगरपालिकाको सिमाना कटेपछि देखिने गुलाबी घरहरूले वालिङलाई छुट्टै पहिचान दिएको छ । यहाँका एउटै रंगका घरहरू नगरपालिकाले स्मार्ट सिटीको रूपमा विकास गर्न थालिएको पहिलो कदम हो ।

Waling Smart City

२०७३ सालको दोस्रो नगरसभामा गरिएको निर्णयअनुसार, वालिङका सबै घरहरूमा गुलाबी रंग लगाउने अभियान सुरु भयो । वालिङ नगरपालिका इन्जिनियर मणि प्रसाद तिवारीका अनुसार नगरपालिकाले वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रंग छानेको हो ।

२०७४ सालबाट सुरु भएको यस अभियान अन्तर्गत हालसम्म वालिङ नगरपालिका क्षेत्रमा करिब २१ सय घरहरू गुलाबी रंगमा रङ्गिएका छन् ।

यहाँका पुराना घरहरूमा अन्य रंग लगाइएको भएपनि, नयाँ बनेका घरहरूमा अनिवार्य रूपमा गुलाबी रंग प्रयोग गर्नुपर्ने नियम लागू गरिएको छ । जसका लागि नगरपालिकाले स्थानीय बासिन्दाहरूलाई गुलाबी रंग किन्दा ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्जिनियर तिवारी बताउँछन् । 

Waling Smart City

नगरभित्र गुलाबी रंगको अनुपालन नगरेका घरहरूले निर्माण सम्पन्नताको प्रमाणपत्र पाउँदैनन् । साथै त्यस्ता घरहरूको किनबेचमा पनि प्रतिबन्ध लगाइएको छ । जसले नागरिकहरूलाई यो अभियानमा सहभागी हुन प्रोत्साहित गरेको छ । 

इन्जिनियर तिवारी भन्छन्, ‘केही समय अघि रङ वितरक कम्पनीहरूले गुलाबी रंगमा छुट नदिएको भन्ने सर्वसाधारणको गुनासो पनि आएको थियो; तर अहिले अवस्था सामान्य छ ।’ यसले वालिङ नगरपालिकालाई एकरूपतामा ढाल्ने र अद्वितीय सौन्दर्य प्रदान गर्ने भूमिका खेलेको छ ।

Waling Smart City

गुलाबी रंग माया, मित्रता, र सौन्दर्यको प्रतीक हो । यही विशेषता वालिङको रंगले नगरको आत्मीयता र सामूहिकताको भावना झल्काउँछ ।

वालिङ नगरपालिका हुँदै जाने सिद्धार्थ राजमार्ग कास्कीको पोखरा हुदै रूपन्देहीको सिद्धार्थनगर (सुनौली) जोडिएको छ । जसले नेपाल घुम्न आउने पर्यटकहरूले वालिङ शहरलाई सहजै रुपमा बेग्लै पहिचानले चिनुन् भन्ने हेतुले वालिङ शहरलाई ‘पिङ्क सिटी’मा रूपान्तरण गरिएको हो । 

Waling Smart City

सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीलाई यो गुलाबी सहरले फरक अनुभव दिने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ । 

विदेशी तथा आन्तरिक पर्यटकहरूका लागि यो सहर नेपालमा एक नयाँ आकर्षणको केन्द्र बन्नेछ । भने नेपालका अन्य सहरहरूको तुलनामा फरक पहिचान बनाउँछ । यस पहलले वालिङलाई सौहार्दता र सद्भावले भरिपूर्ण आधुनिक सहरको रूपमा स्थापित गरेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

You May Also Like

More stories from Basobaas