Lifestyle

आवासिय घर खरिद गर्दा अनिवार्य ध्यान दिनुपर्ने ७ कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर सम्पत्ति मात्रै होइन, धेरैका लागि सपना पनि हो । त्यसैले सपनामा गरिने लगानी हचुवाको भरमा हुनु हुँदैन । घरको लालपूर्जा लिनुअघिका कानुनी प्रकृया देखि प्राविधिक पक्षलगायतका विचार गर्नुपर्ने ७ महत्त्वपूर्ण कुराहरूः

घर भएको स्थानः

आवासिय घरका लागि उपयुक्त स्थानको विशेष महत्व हुन्छ । यसले दैनिकीमा प्रत्यक्ष प्रभाव पार्छ । आफुलाई पायक पर्ने स्थान र अति आवश्यक सेवासुविधाहरू यातायात, विद्यालय, अस्पताल, बजार, र बैंकजस्ता कुराहरू नजिक हुँदा यसले समय रखर्चको बचत गरी जीवनशैली ढुक्क बनाउँछ । 

घर बनेको माटोको प्रकृतिः

घर बनाउन बलौटे पत्थरिलो माटो उपयुक्त मानिन्छ । तर उपत्यकामा बलौटे माटो नभएकाले पहिले पोखरी भएको जग्गामा माटो भरेर सम्याइ घर बनाइएको हुन सक्छ । यस्तो जग्गा झट्ट हेर्दा राम्रो र मिलेको देखिए पनि तुरुन्तै घर बनाउन उपयुक्त हुँदैन । माटो पुरेको क्षेत्रमा कम्तीमा ६ देखि सात वर्षसम्म घर बनाउन मिल्दैन । घर बनाइयो भने दुई-तीन वर्षमा घर ढल्किले, चर्किने सम्भावना धेरै हुन्छ । यसो हुँदा घर बनेको जग्गाको माटो कस्तो छ सो कुरामा विशेष ध्यान दिनुपर्छ ।

कानुनी परामर्शः

आफूले किन्न लागेको घर कानुनी रूपबाट मान्यता प्राप्त छ कि छैन, राम्ररी बुझ्नु पर्छ । नक्साअनुसार घर बनाएको छ कि छैन त्यसमा ध्यान दिनु पर्छ । घरसँग जोडिएको बाटो कस्तो भन्ने थाहा पाउनु पर्छ । मापदण्डअनुसार बाटो छोड्न जग्गा पर्याप्त छ कि छैन ख्याल गर्नुपर्छ । त्यसैगरी घरसँग सम्बन्धीत कुनै कानुनी बाधा अड्चनहरू, घर धितोमा वा रोक्का छ कि छैन ? घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छकि छैन आदि सबै राम्रो वकिलसँग परामर्श गरेर कुनै कानुनी अड्चन छ कि छैन सुरुमै निधो गर्नुपर्छ । नत्र नबुझि घर किन्दा पछि समस्या आइपर्न सक्छ ।

छिमेकी कस्तो छ त ?

घर किन्दा सबैभन्दा ध्यान पुर्याउनुपर्ने पक्ष छिमेकी हो । छिमेकी नबुझी घर किनेर सर्दा भोलि पछुताउनु पर्न सक्छ । यदि तपाईंलाई घर मन पर्यो र किन्ने निधोमा पुगिसक्नु भयो भने एक हप्तासम्म विहान, दिउँसो र साँझ त्यो ठाउँमा पुगेर छिमेकीको बारेमा बुझ्दा राम्रो हुन्छ । आफु बस्ने ठाउँको छिमेकी राम्रो हुनुपर्छ । वरिपरिको समाज र त्यहाँ हुने गतिविधिहरु आफै गएर नियाल्नुपर्छ । घरमा महत्वपूर्ण समय बिताइन्छ । पुरै परिवारका सदस्यहरु बस्नुपर्ने हुन्छ । यकिन गर्नुहोस् कि त्यो छिमेकमा एडजस्ट गरेर बस्न सकिन्छ कि सकिदैन । आफ्नो घर भएको ठाउँ शान्त हुनुपर्छ ।

इञ्जिनियरसँग परामर्श लिनेः

तपाईंले घर पनि छान्नुभयो र छिमेकी पनि बुझ्नुभयो । अब तपाईंले आफुले किन्ने निधो गरेको घरको इञ्जिनियलाई देखाएर राम्रोसँग ‘इन्स्पेक्सन’ गर्नुपर्छ । त्यो घरको स्ट्रक्चर कस्तो छ, कस्तो मेट्रियल्स प्रयोग गरेको छ, कस्तो ठाउँमा बनाएको छ, कत्तिको बलियो बनाएको छ, कतै बिक्री गर्ने हिसावले कमसल पो बनाएको छ कि, पानी चुहावट वा ड्रेनेजको समस्या र घरको चार किल्ला पनि ‘क्लियर’ भएको हुनुपर्छ ।

बिजुली र पानी कसको नाममा दर्ता छ चेक गर्नेः

नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन वितरण गर्दा घर एकजनाको नाममा भए पनि अर्कोको नाममा बिजुलीको लाइन दिएको हुन्छ । त्यसै गरी पानीको लाइन पनि कहिलेकाहीँ अर्कै व्यक्तिको नाममा दिइएको हुन सक्छ । घर किन्नु अगाडी बिजुली कसको नाममा दर्ता भएको छ चेक गर्ने र बिजुलीको बाँकी बक्यौता रकम चुक्ता भएको छ कि छैन चेक गरेर मात्र घर खरिद गर्नुपर्छ । पानीको लाइनको पनि बाँकी बक्यौता र लाइन धनीको नाम आफ्नो नाममा ल्याएर मात्र घर पास गर्नुपर्छ । 

अस्थायी टहराहरुको नक्सा पास छ कि छैन

घर निर्माण सम्पन्न लिइसकेपछि पनि कहिलेकाहीँ कुनै घरधनीले अस्थायी टहराको नामका सानो तिनो अवैध संरचना निर्माण गरेको हुन सक्छ । उदाहरणका लागि राइट अफ वे मा पर्ने जग्गामा गार्डको लागि सानो क्वाटर वा शौचालय पनि बनाउने, छतमा प्री फ्याबका विभिन्न संरचनाहरू बनाउने क्रम बढेको छ । घर लिँदा यी अस्थायी संरचनालाई देखाएर मोलतोल गर्ने गरिन्छ । तर नक्सा पास गरेको छैन भने यस्ता संरचनाहरू पछि अवैध ठहरिइ कुनै पनि बेला भत्किन सक्छ । यस्तो घर तपाईँले लिनुभयो भने नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । त्यसैले घर किन्दा अस्थायी जस्ता देखिने संरचनाहरूको नक्सा पास छ कि छैन भन्ने कुरा पनि चेक गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It