काठमाडौं । नेपालको अधिकांश भूभाग पहाडी छ । जसले गर्दा मुख्य शहरी अथवा बजार क्षेत्रमा घर बनाउन समथर जग्गा पाउन मुस्किल हुन्छ । यस्तोमा सुरक्षित आवास र दिगो लगानीका लागि भिरालो जग्गामा लगानी गर्नु कति उचित हुन्छ भन्ने विषयमा आजको लेखमा चर्चा गरौँ ।
भिरालो जग्गामा लगानी गर्नुका फाइदाहरूः
उपयुक्त प्रयोजनका लागि विशेष योजना र निर्माण प्रविधि अपनाइएमा भिरालो जमिनमा गरिएको लगानी लाभदायक हुन सक्छ । बजेट अनुकूलता, पर्यटकीय सम्भावना, र कृषि उपयोगिता जस्ता पक्षहरूले गर्दा भिरालो जमिन खरिद गर्नु राम्रो विकल्प बन्न सक्छ ।
१. तुलनात्मक रूपमा सस्तो
भिरालो क्षेत्रका जग्गाहरू समथर जग्गाको तुलनामा झण्डै १५-२०% सस्ता हुन्छन् । यसो हुँदा बजेट सीमित भएका खरिदकर्ताहरूका लागि यो आकर्षक विकल्प बन्न सक्छ ।
२. रिसोर्ट, फार्महाउस वा पर्यटकीय गतिविधिका लागि उपयुक्त
नेपालका धेरै प्रसिद्ध रिसोर्टहरू पहाडी भूभागमा निर्माण गरिएका छन् । जसले प्राकृतिक सौन्दर्यको मज्जा दिन्छ । धुलिखेल, नगरकोट, पोखरा, बनेपा, चित्लाङ जस्ता स्थानमा पहाडमा बनेका रिसोर्टहरू पर्यटकहरूका लागि मुख्य आकर्षण बनेका छन् ।
३. कृषि प्रयोजनका लागि उपयोगी
भिरालो जमिनलाई तहगत रूपमा सम्याएर व्यवस्थित बनाउने प्रविधि अपनाएर भिरालो जग्गालाई कृषि प्रयोजनका लागि उपयोग गर्न सकिन्छ । भिरालो भूभागमा गहिरो जरासहितका फलफूलका बोटहरू राम्रोसँग उम्रिन्छन् । यसो हुँदा यस्ता जग्गाहरूलाई फलफूल खेती लगायत अन्य व्यावसायिक कृषि उत्पादनका लागि प्रयोग गर्न सकिन्छ ।
भिरालो जग्गामा लगानी गर्नुका बेफाइदाहरूः
भिरालो जमिन तुलनात्मक रूपमा सस्तो भए पनि यसमा घर निर्माण गर्दा वा अन्य प्रयोजनका लागि विभिन्न समस्या आउन सक्छन् । निर्माण लागत, सुरक्षा, र पुनः बिक्री मूल्यजस्ता महत्त्वपूर्ण पक्षहरू विचार नगरिएमा लगानी घाटामा जान सक्छ ।
१. घर निर्माण महँगो र चुनौतीपूर्ण
भिरालो जमिनमा घर बनाउँदा समथर जमिनको तुलनामा थप खर्च लाग्छ । जमिन सम्याउन, माटो भर्न, तथा माटोलाई स्थिर राख्न रिटेनिङ वाल (समर्थन पर्खाल) र सियर वाल आवश्यक पर्छ । जसले निर्माण लागत बढाउँछ । समथर जमिनमा यस्तो अतिरिक्त खर्च आवश्यक नपर्ने भएकाले यो आर्थिक रूपमा व्यावहारिक विकल्प मानिँदैन ।
२. असुरक्षित र भूसंरचनागत जोखिम
भूगर्भ विभागका अनुसार काठमाडौं आसपासका भिरालो जमिन पुरेर घर बनाउनु जोखिमपूर्ण मानिन्छ। यस्तो भूभागमा बालुवा तथा कमजोर माटोको मात्रा बढी हुने हुँदा वर्षायाममा जमिन बग्ने वा जमिन भासिने खतरा रहन्छ । साथै वैज्ञानिक दृष्टिकोणले ३० डिग्रीभन्दा बढी भिरालो भूभागमा घर बनाउँदा भूकम्पीय जोखिम उच्च हुन्छ । बाटोभन्दा मुनि रहेको जमिनमा ढल निकास व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । पहिरोको सम्भावना बढ्ने भएकाले सुरक्षाका दृष्टिले उपयुक्त मानिँदैन ।
३. पुनः बिक्री (Resale) मूल्य कम
भिरालो जमिनको मूल्य समथर जमिनको तुलनामा कम हुन्छ । नयाँ खरिदकर्ताहरू निर्माण लागत र जोखिमका बारेमा चिन्तित हुने भएकाले पुनः बिक्री गर्दा राम्रो नाफा लिन सकिने सम्भावना न्यून हुन्छ ।
भिरालो ठाउँको जग्गा खरिद नै गर्न नहुने भन्ने होइन । तर, घर निर्माणका लागि भने लाभदायक छैन । यसले अतिरिक्त खर्च, सुरक्षाको खतरा बढाउँछ । त्यसैले, सम्भव भएसम्म समथर र सुरक्षित स्थानमा जग्गा खरिद गर्नु नै उत्तम विकल्प हुन्छ । यदि भिरालो जग्गा किन्नैपर्ने अवस्था छ भने, सुरक्षित निर्माण विधिहरू अपनाएर मात्र लगानी गर्ने निर्णय लिनुपर्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।