काठमाडौं । कुनै पनि जग्गा कसको स्वामित्व छ भनेर हेर्ने सबैभन्दा ठूलो प्रमाण लालपुर्जा हो । लालपुर्जाबिना न त जग्गा किनबेच हुन सक्छ न त नामसारी नै । त्यसैले लालपुर्जाको सुरक्षामा हामीले बढी नै ध्यान दिन्छौं । तर ध्यान दिँदाँदिदै पनि लालपुर्जा हरायो भने के गर्ने ? लालपुर्जा हराएमा आफ्नो नामको सम्पत्ति पनि हराउँने त हैन ? आजको लेखमा यसैविषयमा चर्चा गरौं ।
लालपुर्जा हराइहाल्दैमा तपाईंको सम्पत्ती हराउने भन्ने होइन । कसैले पनि सजिलै तपाईंको नामको लालपुर्जा दुरुपयोग गरेर सम्पत्ति आफ्नो नाममा नामसारी गर्न सक्दैनन् । तर यसो भन्दैमा बेवास्ता गरेर बस्न भने हुँदैन ।
प्रतिलिपी कसरी निकाल्ने ?
लालपुर्जा हराएकै हो भन्ने यकिन हुनासाथ प्रतिलिपी लिन आवश्यक कानुनी प्रकृया अघि बढाउनुपर्छ ।लालपुर्जा हराएको घर तथा जग्गाको कित्ता नम्बर थाहा छ भने सिधै सम्बन्धित वडा कार्यालयमा गएर फलानो ठाउँको फलानो कित्ता नम्बरको घरजग्गाको प्रतिलिपि पाऊँ भनी निवेदन दिन सक्नुहुन्छ । तर यदि कित्ता नम्बर थाहाँ छैन भने कित्ता नम्बर पहिचान गर्न सम्बन्धित व्यक्तिको नागरिकता, सम्बन्धित जग्गाको तिरो तिरेको रसिद लिइ मालपोत कार्यालयमा जानुपर्छ । मालपोत कार्यलयका कर्मचारीले सो कागजपत्रको आधारमा घरजग्गा पहिचान गरी कित्ता नम्बर दिन्छन् ।
कित्ता नम्बर पाएपछि सम्बन्धित वडा कार्यालयमा निश्चित शुल्क तिरी आफ्नो फोटो र नागरिकता सहित लालपुर्जाको प्रतिलिपि पाऊँ भनी निवेदन दिन दिनुपर्छ । त्यसपछि वडाले फोटोसहितको सिफारिस दिन्छन् । सो सिफारिस पत्र मालपोत कार्यालयमा बुझाउनुपर्छ । सोही जग्गाधनीको सम्पूर्ण विवरण र जग्गाको विवरण भरिएको सिफारिसको आधारमा मालपोत कार्यालयले श्रेस्तासँग भिडाएर तपाईंको हराएको लालपुर्जाको प्रतिलिपी दिन्छन् ।