News

ग्वार्को ओभरपासको डिजाइन फेर्दै ठेकेदार कम्पनी

Pinterest LinkedIn Tumblr

काठमाडौं ।‍ ग्वार्को चोकमा निर्माणाधिन ‘ओभरपास’को डिजाइन पुनरावलोकन (रिभ्यू) हुने भएको छ । यसअघि स्वीकृत भएको डिजाइनअनुसार काम गर्न ठूला मेसिनहरू उपलब्ध नभएको भन्दै ठेकेदार कम्पनीले इन्जिनियरिङ डिजाइन पुनरावलोकनका लागि सडक विभागसँग अनुमति लिएको हो ।

यसअघि ओभरपासमा ४ वटा ‘पाइल’ निकै गहिरो हुने गरी डिजाइन गरिएको थियो । सो डिजाइनअनुसार त्यति गहिरोसम्म पुगेर काम गर्न आवश्यक पर्ने ‘भाइब्रो हेमर्स’ मेसिन ठेकेदार कम्पनीले भारतबाट ल्याउन नसकिने जनाएपछि डिजाइन परिवर्तन गर्नु परेको हो । 

ठेकेदार कम्पनीका अनुसार अब ४ वटाको सट्टामा गहिरो नहुने गरी १२ वटा पाइल राखिने छ । 

ठेकेदार कम्पनीले डिजाइन ‘रिभ्यू’ गरेर सडक विभागमा बुझाउने र डिजाइन स्वीकृतिपछि नयाँ डिजाइनअनुसार काम थाल्ने योजना छ । यसकारण ओभरपास निर्माणको काम प्रभावित भएको छ । 

हाल एमएसी वालको जग डिजाइन पनि रिभ्यु भइरहेको सडक विभागले जनाएको छ । 

हालको नयाँ डिजाइनमा ओभरपासको ग्रेड, ब्रिज क्लेयरेन्ससहित ओभरपासको भारवहन क्षमता लगायत मजबुत रहने/नरहने पक्ष हेरेर विभागले डिजाइन पुनरावलोकनलाई स्वीकृत गर्ने जनाएको छ । 

कस्तो छ त हालको डिजाइन!

हालको डिजाइनअनुसार ग्वार्कोको ओभरपासमा पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य चार लेन (फास्ट ट्रयाक)मा र्‍याम्प (भिरालो बाटो) बनाएर चोकमा पुल निर्माण गरी सवारी आवागमन व्यवस्थित गरिने छ ।

योजनाअनुसार सडक विभागले ‘बी एन्ड बी’ अस्पतालतर्फबाट मुख्य चारलेनमा चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बनाइनेछ । त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्‍याम्प बन्ने छ । र्‍याम्प र पुल गरी ५४० मिटरको ओभरपास संरचना बन्नेछ ।

४ प्रतिशतको ग्रेडिङ भएको र्‍याम्प बनाउन विभागले ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ रिटेनिङ वाल’ लगाउनेछ र त्यसभित्र माटो भर्नेछ । माटो भरेपछि त्यसमाथि चार लेनको सडक नै निर्माण गरिनेछ । र्‍याम्पको चौडाइ १६ मिटरको हुनेछ । जसमा विस्तारित चक्रपथको अन्य भागको जस्तै समानान्तर रूपमा ४ लेनकै सडक बनाइनेछ ।

मुख्य चोकमा ३५ मिटरको पुल (सम्म भाग) रहनेछ । जुन पुलको मुनिबाट रिङ्गरोड परिक्रमा गर्ने सवारीसाधन  बिनाअवरोध ‘क्रस’ गर्न सक्नेछन् । अर्थात् ओभरपासको पुल निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसाधन फ्लाइओभरकै मुनिबाट वारपार गर्नेछन् ।

बीचका सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरू अहिलेकै अवस्थामा रहने छन् । 

सडक विभागले २७ माघ, २०७८ मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । निर्धारित समयअनुसार काम भएमा अबको फागुनभित्र ओभरपास बनिसक्नुपर्छ ।

आशिष, रेलिगेयर, समानान्तर जेभीसँग ओभरपास निर्माणका लागि १७ करोड ६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भने ओभरपास निर्माणको ५ वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मतसम्भार गर्नुपर्ने गरि सम्झौता भएको थियो । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It