Tourism

नेपालका यस्ता ५ पर्यटन गन्तव्य, जहाँ पुगेपछि फर्किनै मन लाग्दैन

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्ः

काठमाडौं । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । सन् १९८० को सेप्टेम्बर २७ मा विश्व बजारमा पर्यटनको औपचारिक सुरुवात गरिएको थियो । सोही मितिको आधारमा विश्वभर पर्यटन दिवस मनाउन थालेको ३७ वर्ष भइसकेको छ । पर्यटकीय दृष्टान्तमा जीवनमा एकपटक पुग्नै पर्ने देशहरूमध्ये नेपालको नाम अग्रपङ्क्तिमा छ । युनेस्कोले विश्व सम्पदा क्षेत्रमा नेपालका ६३० सांस्कृतिक र प्राकृतिक सम्पदालाई सूचीकृत समेत गरेको छ ।

यसै सन्दर्भमा आज हामी नेपालका केही प्रमुख पर्यटन गन्तव्यको चर्चा गर्दैछौँ । जो सांस्कृतिक र महत्वका हिसाबले मात्र नभएर बनावटका आधारमा पनि निकै आकर्षक मानिन्छन् । तिनीहरूको मुख्य आकर्षण नै निर्माण शैली अर्थात् वास्तुकला हो भन्दा फरक पर्दैन । नेपालमा यस्ता राष्ट्रिय गौरवका सम्पदा नगन्य छन्, जसले मुलुकको इतिहास, कला र साम्प्रदायिकता झल्काउँछन् । ती मध्ये पाँचवटा आकर्षक पर्यटन गन्तव्यको मनमोहक वास्तुकलाको बारेमा अब कुरा गरौं । 

१.  श्री पशुपतिनाथ

विश्वप्रशिद्ध पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । २४० हेक्टर जग्गामा फैलिएको पशुपतिनाथको मन्दिर एक जीवन्त धार्मिकस्थल हो । 

 पशुपतिनाथ
पशुपतिनाथको मन्दिर

यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । साथै यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ, जुन अति सुन्दर खुदी काठबाट बनेका छन् । यस मन्दिरको २ स्तरको छाना सुन र तामाले बनेको छ भने मुख्य ४ ढोकाहरू चाँदीका रहेका छन् । पशुपतिनाथको मूख्य मन्दिरमा सुनको गजुर रहेको छ ।

 पशुपतिनाथ
पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्धार

पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’को मूर्ति रहेको छ। यस मूर्तिलाई नेपालमा ‘कलिको मूर्ति’ भनेर पनि चिनिन्छ । नेपालको पुराना मूर्तिहरूमध्ये यो मूर्ति पनि एक हो । यो मन्दिर पौराणिक धार्मिक महत्व र शिल्पमा चासो राख्नेहरूका लागि उत्कृष्ट गन्तव्य हो ।

२. भक्तपुर दरबार स्क्वाएर 

‘भक्तपुर’ प्राचीन वास्तुकला र गौरवमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो । जहाँ विभिन्न कालखण्ड पार गरिआएको ऐतिहासिक धरोहर हो, ‘भक्तपुर दरबार स्क्वाएर’। भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ । 

भक्तपुर दरबार
भक्तपुर दरबार परिसर

भक्तपुर दरबार स्क्वाएरलाई प्यागोडा र शिखर शैलीका मन्दिरहरूको कलात्मक सङ्ग्रहका रुपमा लिइन्छ । पचपन्न झ्याले दरबार, गोल्डेन गेट, मिनि पशुपति मन्दिर, वत्साला मन्दिर, ५ तल्ले मन्दिर र भैरवनाथ मन्दिर यहाँका मुख्य आकर्षण हुन् । 

भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा हो, वत्सल्य देवी मन्दिर । ढुङ्गाको उत्कृष्ट कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सल्य देवी रहेकी छिन् । स्थानियवासीका अनुसार चाँदीको ठूलो घण्टीको लागि प्रसिद्ध यस मन्दिरको ठूलो घण्टी बजाएपछि परिसर क्षेत्रमा रहेका कुकुरहरू भुक्ने र कराउने गर्दछन् ।

सन् १७३७ मा मल्ल राजा रणजीत मल्लद्वारा यो विशाल घण्टीलाई मन्दिरमा स्थापना गरिएको थियो र दैनिक निषेधाज्ञाको सूचना दिनको लागि यो घण्टीलाई बजाइने गरिएको थियो । यो घण्टीलाई प्रत्येक दिन बिहान तलेजु भगवतीको पूजा गर्दा बजाइने गरिन्छ । 

पचपन्न झ्याले दरबार

ऐतिहासिक संरचना र विभिन्न कलाको स्वरुपलाई एकै ठाउँमा हेर्नका लागि भक्तपुर दरबार स्क्वायर उपयुक्त गन्तव्य हुनसक्छ ।

३. बौद्ध स्तुपा 

काठमाडौंको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । बौद्धस्तुपलाई नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तुपा मानिन्छ । सन् १९७९ देखि बौद्धनाथ पनि युनेस्को विश्व सम्पदा सुचिमा सुचिकृत छ । स्वयम्भुनाथ सँगै बौद्धनाथमा पनि काठमाडौँको सबैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकको भिँड देख्न सकिने ठाउँ हो ।

बौद्ध स्तुपा
बौद्ध स्तुपा

पूण्यभुमी हिमालयको काखमा अवस्थित यस स्तुपाको सुनौलो गजुर पर्यटक आकर्षणको मुख्य विन्दू हो । स्तुपाको मुख्य केन्द्रबिन्दुको रूपमा रहेको भाग गम्बुज र त्यसमाथी निर्माण गरिएको तेह्रवटा चारपाते आकारको पिरामीडको घेरा जसलाई बौद्ध धर्म अनुसार तेह्र स्वर्गको प्रतिक मान्दछन् । 

गम्बुजको फेदमा चारैतिर १०८ खोपाहरू छन् जसमा बुद्धका विभिन्न १०८ मुर्तिहरू राखिएका छन् । विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदायसँग सम्बन्धित छ । तसर्थ यसको व्याख्या ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेखरचना र ग्रन्थहरूमा पाईन्छ ।  तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलर्धमा ३६ मिटर छ । 

बौद्ध स्तुपा
बौद्ध स्तुपा

बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४ औं शताब्दी तिर बनेको थियो । यद्यपि यसको निर्माण सम्बन्धि धेरै रोचक कथाहरू रहेको छ । सन् १९५९ मा तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आएपश्चात बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको महत्त्वपूर्ण केन्द्र बनेको थियो ।

४. हनुमानढोका दरबार क्षेत्र 

काठमाडौको केन्द्रमा रहेको हनुमानढोका राजकीय दरबार, चोक, मन्दिर, स्मारक, तथा मल्लकालीन र शाहकालीन संरचनाहरूको जटिल रूप हो । 

विश्व सम्पदा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र ६० वटा पुरातात्विक स्थल छन् । यहाँ चौधौं शताब्दीमा राजा रत्न मल्लदेखि, महेन्द्र मल्ल, प्रताप मल्ल हुँदै पृथ्वीनारायण शाह, जंगबहादुर राणा र चन्द्र शमसेरका पालासम्म निर्माण भएका प्यागोडा, शिखर, तथा गुम्बज वास्तुशैलीका असङ्ख्य भवन र मन्दिरहरू छन् ।

हनुमानढोका
हनुमानढोका दरबार परिसर

दरबार दुवै मूर्त र अमूर्त सांस्कृतिक विविधतामा धनी छ । उत्कृष्ट ऐतिहासिक, पुरातात्विक, र धार्मिक मूल्यका कारण हनुमानढोका दरबार क्षेत्र सन् १९७९ बाट नै युनेस्को विश्व सम्पदाको रूपमा सूचीकृत छ । यस दरबारमा रहेका अनौठा उत्सव, धार्मिक रीति, मूर्तिकला, चोकहरू, मन्दिरहरू, आदि देशको जीवित संस्कृति र राष्ट्रिय गौरवका पक्ष हुन् ।

हनुमानढोका
हनुमानढोका दरबार

तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप यस क्षेत्रका आकर्षण हुन् ।

५. लुम्बिनि

लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनी

गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रुपन्देही जिल्लामा पर्दछ । बौद्ध धर्मावलम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको रुपमा लुम्बिनी विश्वप्रशिद्ध छ । हिन्दुरूले मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्दछन् । यसो हुँदा हिन्दु धर्मवालम्वीका लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य हो । लुम्बीनी सिद्धार्थ गौतमको जन्मस्थलको नाउँ पनि बुद्धको रुपमा परिचित छ । 

लुम्बिनी
लुम्बिनी

लुम्बिनीमा विभिन्न गुम्बा, विहार तथा मन्दिरहरू छन् । मायादेवी मन्दिर, अशोक स्तम्भ, म्यानमार गोल्डेन, शान्तिदीप, श्रीलंका बौद्ध स्तुपा,जापनिज बौद्ध स्तुपा, दक्षिण कोरिया बौद्ध स्तुपा, थाइल्याण्ड बौद्ध स्तुपा, म्यानमार बौद्ध स्तुपा, चाइनिज बौद्ध स्तुपा, नेपाली बौद्ध स्तुपा,विश्व शान्ति स्तुपा,धर्म स्वामी महाराज बौद्ध विहार, लुम्बिनी संग्रहालय यहाँको मुख्य आकर्षणहरू हुन् ।

“पर्यटनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरोन्नतीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । देशको छवीलाई उँचो बनाउने सम्भावना बोकेका धरोहरको सुरक्षा र उचित प्रचार गरी समुन्नत राष्ट्र निर्माणमा सहयोग पुर्याउनु हेरक क्षेत्रका नागरिकको कर्तव्य हो । नेपालमा भएका सबै किसिमका सम्पदाहरूलाई नजीकबाट नियाल्न तत्पर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विश्व पर्यटन दिवसको शुभकामना । ” -बसोबास डटकम

 

प्रतिक्रिया दिनुहोस्
Pin It