News

कात्तिकको तुलनामा ६० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

By BabinaDecember 18, 20233 min read
कात्तिकको तुलनामा ६० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । कार्तिकमा खस्किएको कारोबार मंसिरमा ६०.६८ प्रतिशतले घरजग्गा कारोबार बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा देशभरबाट ४१ हजार ८ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ । कार्त्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो । 

उपत्यकामा कहाँ कति भयो किनबेच?

काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकी कार्यालयबाट मंसिरमा ५ सय ८८ संख्यामा घरजग्गा कारोबार भएको छ । यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन् ।

दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ । यस कार्यालयबाट मंसिरमा ३ सय ७० संख्यामा घरजग्गा कारोबार भएको छ । साँखु मालपोत कार्यालयको कार्यक्षेत्रमा बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिका पर्छन् । 

त्यस्तै, तेस्रोमा चाबहिल मालपोत कार्यालयबाट मंसिरमा ३ सय ५१ संख्यामा कारोबार भएको छ । आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन् । 

डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ८१ संख्यामा घरजग्गा किनबेच भएको छ । यस कार्यालयले काठमाडौँ महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा समेट्छ । 

यस्तै, टोखा मालपोत कार्यालयबाट १ सय ४० संख्यामा घरजग्गा किनबेच भएको छ । यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ । 

चालु आर्थिक बर्षको मंसिर महिनामा मनमैजु मालपोत कार्यालयबाट घरजग्गाको कारोबार शुन्य रहेको छ । यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन् । 

राजश्व संकलन

मंसीर महिनामा घरजग्गा कारोबारबाट संकलन हुने राजश्व भने उल्लेखनीय वृद्धि हुन सकेन । मंसिरमा देशभरका मालपोत कार्यालयबाट २ अर्ब ८६ करोड रूपैयाँ राजश्व संकलन भएको छ । जुन कार्तिकको तुलनामा ७० हजारले बढी हो । कार्त्तिकमा घरजग्गा कारोबारबाट सरकारलाई २ अर्ब १६ करोड रूपैयाँ राजश्व संकलन भएको थियो । 

मंसिरमा लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा धेरै राजस्व संकलन भएको छ । मंसिरमा लगनखेल मालपोत कार्यालयबाट २८ करोड ११ लाख  २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

यस्तै, डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १० लाख ३५ हजार रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १७ करोड ८७ लाख २९ हजार रुपैयाँ र कलंकीबाट १६ करोड ७६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

मंसिरमा सरकारले सेवाकर वापत २२ करोड ३१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कर उठाएको छ । 

देशभरका मालपोत कार्यालयहरुले मंसिरमा पुँजीगत लाभकरबापत ९६ करोड ४५ लाख ४ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ९० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कुन मालपोतबाट कति कित्ताकाट ?

मंसिरमा सबैभन्दा धेरै कित्ताकाट भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट भएको छ । भद्रपुर कार्यालयबाट १७ सय ९४ जग्गा कित्ताकाट भइ ३७ सय ८८ कायम भएको छ । 

मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट मंसिरमा १५ सय ४८ जग्गा कित्ताकाट भइ ३६ सय ७८, धनगढी, कैलालीबाट १७ सय ५२ जग्गा कित्ताकाट भइ ३५ सय ३८, बेलबारी मोरङबाट ११ सय ९८ जग्गा कित्ताकाट भइ २९ सय ९४ कायम भएको छ । 

त्यस्तै, मालपोत कार्यालय इनरुवा, सुनसरीबाट ११ सय ८२ जग्गा कित्ताकाट भइ २७ सय ८९, राजविराज सप्तरीबाट ११ सय १२ जग्गा कित्ताकाट भइ २७ सय ५६, जलेश्वर महोत्तरीबाट १ हजार ५१ जग्गा कित्ताकाट भइ २६ सय २० कायम भएको छ । 

increased real estate transtationmangsirproperty marketreal estate transactionsrevenue collection

You May Also Like

More stories from Basobaas