ललितपुरको गोदावरीमा ७१ युनिटको ‘गोदावरी भ्याली’ हाउजिङ परियोजना निर्माण हुने भएको छ। भूमि डेभलपर्स प्रालि नामको कम्पनीले विकास गर्ने यो परियोजनाको सफ्ट लञ्च गर्दै बुकिङ खुलाएको छ।
भूमि डेभलपर्समा विशाल समूह, विराटनगरको देबनरा समूह र बाबा समूहको संयुक्त लगानी छ।
कुल ४० रोपनीमा निर्माण हुने यस परियोजनामा बन्ने घरहरु ४.५ आनादेखि १२ आना जग्गामा निर्माण गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ती सबै घरहरु साढे दुई तलाका हुनेछन्। जसमध्ये टाइप ए र टाइप सीएम डिजाइनका घरहरुको बिल्टअप एरिया २६३५.७१ वर्गफीट र टाइप बी ३३६० वर्गफीट हुने जनाएको छ।
कम्पनीका सीईओ सौरभ तिम्सिनाका अनुसार परियोजनाको समग्र लागत साढे तीन अर्ब रुपैयाँ अनुमान गरिएको छ। घरहरुको मूल्य न्यूनतम तीन करोड ८० लाख रुपैयाँदेखि नौ करोड रुपैयाँसम्म रहेको उनले बताए।
टाइप एका घरहरुमा एउटा/एउटा लिभिङ रुम, किचेन, फ्यामली रुम, पूजा कोठासहित ५ वटा बेडरुम रहने कम्पनीले जनाएको छ। टाइप बीका घरहरुमा एउटा/एउटा लिभिङ रुम, किचेन, फ्यामली रुम, पूजा कोठासहित ६ वटा बेडरुम र एउटा मल्टिपर्पोज हल समावेश हुने कम्पनीले जनाएको छ।
कम्पनीले घर खरिदकर्ताहरुलाई बैंक फाइनान्सिङको सुविधा दिने जनाएको छ। बुकिङदेखि घर हस्तान्तरणसम्ममा खरिदकर्ताहरुले किस्तामा रकम बुझाउने गरी घर किन्न सकिने बताइएको छ।
परियोजना ३० महिनाभित्रमा पूरा गरेर खरिदकर्ताहरुलाई घर हस्तान्तरण गरिसक्ने कम्पनीले जनाएको छ। १६ मिटर चौडाईको सातदोबाटो-गोदावरी सडकसँगै निर्माण हुने यस परियोजनाभित्र आठ मिटर र ६ मिटर चौडाईका बाटोहरु हुने कम्पनीले जनाएको छ।
हाउजिङ परियोजनाभित्र चिल्ड्रेन पार्क, चार लेनको मुख्य बाटोसम्म पहुँचमार्ग, हेल्थ क्लब, कम्युनिटी हल, विद्युतीय गाडीका लागि व्यक्तिगत चार्जिङ स्टेसनका साथै वास्तुअनुसार घर निर्माण गरिने कम्पनीले जनाएको छ। हाउजिङभित्रै काठमाडौं उपत्यकाको भ्यू देखिने गरी क्याफे संचालनमा ल्याइने कम्पनीले जनाएको छ।
विशाल समूह र देवनरा समूहले यसअघि विराटनगरका चौधरी दाजुभाइको हाइलाइफ समूहसँग मिलेर करिब तीन वर्षअघि एक अर्ब रुपैयाँमा विराटनगर सेन्ट्रल मल संचालनमा ल्याइसकेको छ।
विशाल समूहको लगानी कृषि, अटोमोबाइल, ब्यूटी एण्ड लाइफस्टाइल, शिक्षा, बैंक तथा वित्तीय संस्थाहरुमा छ। देबनरा समूहले जुट मिल, ध्यू तथा खानेतेल रिफाइनरी, साबुन तथा डिटरजेन्ट, ट्रान्सपोर्ट, कृषिमा आधारित उद्योग, उड्डयन क्षेत्रदेखि स्टक ब्रोकर कम्पनीमा लगानी गरेको छ।
यस्तै, बाबा समूहको लगानी बैंक तथा वित्तीय संस्था, खानी तथा खनिज, टेक्स्टाइल, खानेतेल रिफाइनरीका साथै देबनरा समूहसँगै उड्डयन र जलविद्युतमा छ।

