Market

घरजग्गा कारोबार बढ्दा पनि १० महिनामा ६ करोडले घट्यो राजस्व संकलन 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षमा घरजग्गा कारोबार बढेपनि सरकारलाई प्राप्त हुने राजस्व भने तुलनात्मक रूपले घटेको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा घरजग्गा कारोबारबाट ३३ अर्ब १२ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्ष ०७८/७९ को सोही अवधिको तुलनामा करिब ६ करोडले कम हो । 

गत वर्षको सोही अवधिमा सरकारले घरजग्गा कारोबारमार्फत ३३ अर्ब १२ करोड ७३ लाख रुपैयाँ संकलन भएको थियो । 

गत बैशाख मात्रै ४९ हजार सात सय ८२ वटा कारोबार हुँदा सरकारलाई तीन अर्ब ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

विभागका अनुसार चालू आवको बैशाखसम्म घरजग्गाको लिखित पारित १८.१९ प्रतिशतले बढेको छ । तर, घरजग्गा कारोबारबाटै उठ्ने राजस्व (कर तथा गैरकर) भने ०.२१ प्रतिशतले घटेको छ । 

१० महिनामा देशभर ४ लाख २९ हजार नौ सय ५५ वटा घरजग्गा नामसारी (कारोबार) भएका छन् । गत आवको सोही अवधिमा देशभर ३ लाख ६३ हजार सात सय ६८ वटा घरजग्गा कारोबार भएका थिए । गत आवमा कुल चार लाख ६३ हजार ३ सय २२ कारोबार भएका थिए । 

बैशाखमा मात्र देशभर ४९ हजार सात सय ८२ वटा घरजग्गा नामसारी भएका छन् । गत आवको वैशाखमा भने देशभर ४२ हजार चार ६१ कारोबार भएका थिए । 

कम मूल्यका जग्गाको कारोबार बढी हुँदा राजस्व संकलनमा कमी आएको विभागले जनाएको छ । बढी मूल्यका घरजग्गा बिक्री भएको भए राजस्व पनि स्वतः बढी उठ्ने हुन्थ्यो । तर, अहिले कम मूल्यका घरजग्गाको कारोबार बढी भएको अनुमान छ । त्यसैले कारोबार संख्या बढे पनि राजस्व भने बढ्न सकेको देखिँदैन । 

घरजग्गा कारोबार गर्दा ग्राहकले पुँजीगत लाभकर, सेवा शुल्क, रजिस्ट्रेसन, विलम्ब शुल्कलगायत शीर्षकमा सरकारलाई कर तिर्नुपर्छ । प्रदेश सरकारपिच्छे करका दरहरू फरक–फरक छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It