Property

घर बनाउदा राम्रो ठेकेदार कसरी छन्ने ? यस्तो छ उपाय

Pinterest LinkedIn Tumblr

सामान्यतया सर्वसाधारणले घर बनाउँदा दुई तरिकाले काम लगाउने गरेको पाइन्छ- दैनिक ज्यालादारीमा मजदुर लगाएर र ठेक्का दिएर । दैनिक ज्यालादारीमा मजदुरलाई काम लगाउने तरिका खासगरी गाउँ क्षेत्रमा परम्परागत किसिमका घर बनाउँदा प्रयोग गरिन्छ ।

परम्परागत घर बनाउँदा प्रायः एउटै ढाँचा प्रयोग गरिने भएकाले यो निर्माण कार्य सरल हुन्छ । आधुनिक किसिमका घर त्यो पनि सहरी क्षेत्रमा बनाउनुपर्‍यो भने सबै काम दैनिक ज्यालादारीमा मजदुर खटाएर गराउन सम्भव हुँदैन । त्यसैले यस्ता घर बनाउन ठेक्का विधि अपनाउने गरिन्छ । त्यसमा पनि ठूलाठूला भवन बनाउनुपर्‍यो भने निर्माण कम्पनीलाई ठेक्का दिइन्छ भने आफ्ना लागि आवासीय भवन बनाउँदा प्राय: स्थानीय ठेकेदारलाई कामको जिम्मा लगाइन्छ ।

आफ्ना लागि आवासीय भवन बनाउँदा पनि दुई किसिमले ठेक्का लगाउन सकिन्छ । एउटा किसिम हो सम्पूणर् घर निर्माणको जिम्मा एउटै ठेकेदारलाई दिने, अर्को हो घरका विभिन्न भागको निर्माणको जिम्मा फरकफरक ठेकेदारलाई दिने । जस्तो जग, पिलर, ढलान, गाह्रो, प्लास्टरजस्तो मुख्य संरचना निर्माणको काम एउटा ठेकेदारलाई, झ्यालढोकाको काम अर्को ठेकेदारलाई । त्यस्तै बत्तीधाराको काम, रङको काम, भान्सा कक्षको काम पनि फरकफरक ठेकेदारलाई दिन सकिन्छ । जसरी कामको ठेक्का दिए पनि आफ्नो सपनाको घर कुनै पनि किसिमले कमजोर नबनोस्, आफूले सोचेजस्तै बनोस् भन्ने चाहना तपाईं हाम्रो हुन्छ । त्यसैले कामको ठेक्का दिँदा सही ठेकेदार छान्नु जरुरी हुन्छ ।

कसरी छान्ने त सही ठेकेदार ? यी बुँदाले तपाईंलाई मद्दत गर्छन्-

सकेसम्म दर्तावाल निर्माण कम्पनीलाई निर्माणको काम जिम्मा दिने । यसो गर्दा निर्माणमा खराबी आएमा क्षतिपूर्ति दाबी गर्न सजिलो हुन्छ । तर सबैले दर्तावाल ठेकेदार कम्पनीलाई काम दिन सक्ने अवस्था हुँदैन । यस्तो अवस्थामा स्थानीय ठेकेदारको भर पर्नुपर्ने हुन्छ ।

प्राविधिक जनशक्ति भएको ठेकेदार छान्ने । निर्माण कम्पनीसँग त प्राविधिक जनशक्ति हुन्छन् नै । स्थानीय ठेकेदार छान्नुपर्दा पनि ठेकेदार आफैंमा प्राविधिक ज्ञान छ कि छैन, उसको काम गर्ने टोलीमा प्राविधिक जनशक्ति छ कि छैन, यो कुरामा ध्यान दिनुपर्छ । प्राविधिक ज्ञान नभएको ठेकेदारले हामीले सोचेअनुसारको घर नबनाइदिन सक्छ ।

यो पनि पढ्नुहोस्: थोरै जग्गा र कम बजेटमा यसरी बनाउन सकिन्छ घर

पछिल्लो समय अत्याधुनिक किसिमका घर बनाउने चलन सुरु भएको छ । सहरी घरमा हरेक तलामा भान्साकोठा, अट्याच बाथरूमको चलन आइसकेको छ । त्यसैले यी सबै कामको ज्ञान भएको ठेकेदार छनोट गर्नुपर्छ ।

ठेकेदारलाई कामको जिम्मा लगाउनुअघि घरको डिजाइनबारे राम्ररी छलफल गर्ने । ठेकेदारले तपाईंले इन्जिनियरबाट तयार पार्न लगाएको नक्साअनुसार घर बनाउन सक्छ कि सक्दैन भन्ने ऊसँगको छलफलबाट थाहा हुन्छ ।

अनुभवी र विश्वासिलो ठेकेदार छनोट गर्ने । कतिपय अवस्थामा घर निर्माण जिम्मा लिएर काम बीचमै छाडी ठेकेदार भाग्ने गरेको पनि भेटिन्छ । यस्तो नहोस् भन्नलाई सकेसम्म दर्तावाल ठेकेदार छान्नुपर्छ । तर दर्तावाल ठेकेदार कम्पनी छान्दा खर्च बढी पर्न सक्छ । त्यसैले कम खर्च होस् भनेर हामी स्थानीय ठेकेदार खोज्छौं । स्थानीय ठेकेदार खोज्दा पनि अनुभवी र विश्वासिलो खोज्नुपर्छ । हालसालै घर बनाएका आफन्तहरुसँग कुराकानी गर्दा, टोल छिमेकमा बुझ्दा यस्ता ठेकेदारबारे जानकारी पाउन सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It